काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाइमा सह वित्तीयकरणमा सहभागी बैंकहरू र कालीगण्डकी गर्ज हाइड्रोपावर बीच कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ।
मुस्ताङ तथा म्याग्दी जिल्लामा अवस्थित कालीगण्डकी नदीमा निर्माण गर्ने १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको हो।
सो आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ रहेको छ । जसमा लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने छन् भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी हुनेछ।
बैंकहरूले यस आयोजनामा २९ अर्ब ६२ करोड ६० लाख रुपैयाँ प्रोजेक्ट फाइनान्स गर्ने भएका छन् । लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ९ अर्ब रुपैयाँ रहेको छ । सहअगुवा बैंकहरूको रुपमा रहेका ग्लोबल आइएमई बैंकको ७ अर्ब १२ करोड ६० लाख रुपैयाँ र सिद्धार्थ बैंकको ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । त्यस्तै, हिमालयन बैंकले ३ अर्ब रुपैयाँ, नेपाल एसबीआई बैंकले ३ अर्ब र एभरेष्ट बैंकले २ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।
कालीगण्डकी गर्ज जलविद्युत आयोजनाले फागुन २७ मा विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति लिनुका साथै फागुन १७ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ।
सो कम्पनीको मुख्य प्रवद्र्धकको रूपमा संघई ग्रुप, विशाल ग्रुप तथा ज्ञानेन्द्र लाल प्रधान रहेका छन्। सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब १०५६ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै ठूलो स्वतन्त्र ऊर्जा उत्पादकमध्ये एकको रुपमा रहने छ।