चीनले चक्रपथ विस्तारको काम चाँडै थाल्ने, नेपालले सर्भिस लेन बनाउँदै

काठमाडौं । लामो समयदेखि अघि बढ्न नसकेको चक्रपथ दोस्रोखण्ड अन्तर्गत कंलकी-महाराजगञ्ज सडकखण्ड विस्तारको काम चाँडै सुरू हुने भएको छ ।

चीन सरकारले अनुदानमा बनाइदिने उक्त सडक विस्तार अब चाँडै सुरू हुने भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जानकारी दिएका हुन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक तथा शून्य समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले मुख्य लेनको सम्पूर्ण पूर्वतयारीका कार्य सम्पन्न भइसकेको जानकारी दिएका हुन् । चिनियाँ पक्षेले चाँडै सडक विस्तार सुरू गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।

दुई देश बीचको सम्झौता अनुसार ८ लेनको उक्त सडकको मुख्य सडक चीनले र सर्भिस लेन नेपाल सरकारले बनाउनु पर्नेछ । सो अनुसार हाल नेपालले सर्भिस लेन विस्तारको काम गरिरहे पनि मुख्य सडक निर्माण सुरू हुन सकेको छैन ।

‘मुख्य लेनको सम्पूर्ण पूर्वतयारीका कार्य सम्पन्न भइसकेकाले केही समयमै चीन सरकारको सहयोगमा बाँकी निर्माण कार्य सुरू हुनेछ,’ मन्त्री दाहालले भने ।

चक्रपथको कलंकीदेखि नारायणगोपाल चोकसम्म ८.२ किलोमिटर सडक दोस्रो खण्डमा विस्तार गर्न लागिएको हो । चक्रपथ पहिलो खण्डमा देखिएको समस्या दोस्रो खण्डमा नदोहोरियोस् भनेर चीन सरकारले निर्माण सुरू गर्नु पहिले नै साइट क्ल्यिरेन्स गर्न लगाएको छ ।

हाल नेपालले गर्नुपर्ने उक्त सडकको साइट क्लियरेन्सको काम लगभग सकिएको छ । चिनियाँ पक्षले पनि डीपीआर निर्माण गरिसकेको छ ।

चक्रपथ सडकको सीमा चौडाइ ६२ मिटर कायम गरिएको छ । स्वयम्भूको चैत्य भने नभत्काउन सहमति भइसककेको हाल कलंकीदेखि नारायणगोपाल चोकसम्म ८.२ किलोमिटर सडक विस्तार गर्ने भएको हो । बाँकी क्षेत्र तेस्रो खण्डमा निर्माण गर्ने योजना रहेको चक्रपथ विस्तार आयोजनाले जनाएको छ ।

यसअघि चक्रपथ पहिलो खण्ड (कोटेश्वर-कलंकी १०.३९ किमी) ८ लेनमा विस्तार भइसकेको छ  । पहिलो खण्ड गलत डिजाइनमा बनाइएको, सहरी सडकभन्दा पनि एक्सप्रेस हाइवे बनाइएको र ढिलो काम भएको भन्दै आलोचना भएको थियो ।

यो सडक निर्माण सुरू भएको ३ वर्षमा विस्तार सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

फाप्लु विमानस्थलमा 'रिफ्युलिङ सेन्टर' स्थापनाको प्रक्रिया अघि बढ्यो Read Previous

फाप्लु विमानस्थलमा 'रिफ्युलिङ सेन्टर' स्थापनाको प्रक्रिया अघि बढ्यो

क्लासिक टेकको नारी दिवस अफर, इन्टरनेट जडानमा ५० प्रतिशत छुट Read Next

क्लासिक टेकको नारी दिवस अफर, इन्टरनेट जडानमा ५० प्रतिशत छुट