पुरोहित बन्न लाइसेन्स लिनुपर्ने भएपछि प्रशिक्षण लिनेको भीड, १५ हजार तिर्नुपर्ने

काठमाडौं । पुराण वाचक, ज्योतिषी कर्म गर्ने र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा लिएर अनुमतिपत्र दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको भीड लागेको छ ।

प्रशिक्षण लिन चाहनेको भीड लागेपछि यही महिनाको अन्तिमदेखि छ महिने कार्यक्रम सुरु गर्न लागिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।

ज्योतिष र कर्मकाण्ड प्रशिक्षण लिन चाहनेहरु समितिमा आएर सोधपुछ गर्न थालेपछि सूचना निकालेर यही महिनाको अन्तिमदेखि प्रशिक्षण दिन लागिएको हो । समितिमा आफैँ खोजी गर्दै २० जना प्रशिक्षार्थी आएको समितिले जनाएको छ ।

प्रशिक्षण लिन चाहनेमध्ये महिला र अपाङ्गलाई छुटको व्यवस्था पनि गर्न लागिएको उनले सुनाए । ज्योतिष प्रशिक्षण लिन भने जनजाति र दलित पनि आउने गरेको समितिले जनाएको छ । कर्मकाण्ड प्रशिक्षणमा भने महिलाको पनि रुचि हुने गरेको छ ।

६ महिने प्रशिक्षणको १५ हजार रुपैयाँ शुल्क तोकिएको कार्यकारी निर्देशक ढुङ्गेलले बताए । यसमा थप परीक्षा शुल्क पनि लिइने जनाइएको छ । कथावाचक, ज्योतिषी र कर्मकाण्ड गर्ने पुरोहितलाई नियमन गर्न, करको दायरामा ल्याउन पनि अनुमतिपत्र लिनुपत्र उपयुक्त हुने भनी तयारी भइरहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए । रासस

क्याथे प्यासिफिकले काठमाडौं-हङकङ दैनिक उडान गर्दै Read Previous

क्याथे प्यासिफिकले काठमाडौं-हङकङ दैनिक उडान गर्दै

नेप्सेमा लगातार उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Next

नेप्सेमा लगातार उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी