काठमाडौं । पियोर इनर्जी लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र बाँके जिल्लावासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।
कम्पनीले आयोजना प्रभावितका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको छ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि १ करोड ४४ लाख रुपैयाँ बराबरको १ लाख ४४ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।
कम्पनीको आइपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १६ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेकाले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार २०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका दुवैले चैत ५ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर बिक्री नभएका ढिलोमा चैत २० गतेसम्म आवेदन थप गरिनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी(आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरूका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङले कम्पनीलाई ‘केयर एपी डबल बी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।