सार्वजनिक स्थानमा फोहर फाल्नेप्रति कठोर बन्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्ने जोकोहीलाई ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गराउने भएको छ ।

कामपा वातावरण विभागका अनुसार कामपा क्षेत्रका घर कम्पाउन्ड तथा परिसरको फोहरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे ५ हजारदेखि १५ हजार रुपैयाँसम्म कारबाही गर्ने भएको हो ।

कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार जथाभावी फोहर फाल्दा दुर्गन्धित हुनुका साथै नागरिकको जनस्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले पूर्ण रुपमा यस कार्यलाई प्रतिबन्ध गरिएको हो ।

यदि कामपाको आग्रहलाई बेवास्ता गरी सार्वजनिक स्थानमा फोहर फालेको कामपाको अनुगमन टोलीले भेटे कामपाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा (च) बमोजिम कारबाही हुने पनि कामपाले स्पष्ट पारेको छ ।

यसैबीच कामपाले फोहर व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउनका लागि ३२ वटै वडामा ६ वटा क्षेत्र निर्धारण गरी काम गर्ने भएको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउन नयाँ व्यवस्था गर्न लागिएको वातावरण व्यवस्थापन विभागको भनाइ छ ।

वातावरण विभागको प्रमुख सरिता राईका अनुसार छवटै क्षेत्रमा एक–एक वटा ट्रान्फरस्टेशन तयार गरी उक्त स्थानबाट फोहरको अन्तिम व्यवस्थापनका लागि ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लगिने छ । त्यसका लागि कामपाले ३२ वटा वडालाई भौगोलिक र जनसङ्ख्याका आधारमा क्षेत्र निर्धारण गरेको हो ।

यसका लागि कामपाले उत्पादकलाई फोहर व्यवस्थापनको जिम्मा लागाउने गरेको छ । प्रमुख राईका अनुसार फोहरमैला व्यवस्थापन ऐन, २०६८ तथा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार फोहर स्रोतमै वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

हाल वडा नं ५, १०, २४, २५, २६ र २७ मा स्रोतमै फोहर वर्गीकरण भइरहेको छ । अब छिट्टै अन्य वडामा पनि फोहर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने तयारी कामपाको छ । स्रोतमा उत्पादित फोहरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्थापन गरिने छ ।

हाल काठमाडौँ उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार छ सय मेट्रिक टन फोहर निस्कने गर्छ । साविकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत साढे दुई वर्षदेखि बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ ।

उपत्यकामा बिजुली आपूर्ति सुधार्न थप २० सबस्टेशन बनाइँदै, ६ निर्माणाधीन Read Previous

उपत्यकामा बिजुली आपूर्ति सुधार्न थप २० सबस्टेशन बनाइँदै, ६ निर्माणाधीन

रकम अभावपछि रोकियो अरुण तेस्रोको मुआब्जा वितरण Read Next

रकम अभावपछि रोकियो अरुण तेस्रोको मुआब्जा वितरण