पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ६ महिना अघि सकिने

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ५४ प्रतिशत सम्पन्न भएको छ । निर्माण शुरु भएको २६ महिनामा ५४ प्रतिशत भौतिक प्रगति भएको हो ।

 

हालसम्म निर्माणका क्रममा ११ अर्ब रुपैयाँ खर्च भइसकेको छ । कुल २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको हो ।

 

पोखरा विमानस्थलको निर्माण तोकिएको समयभन्दा छिटो सकिने अनुमान गरिएको छ । विमानस्थल निर्माणका प्रमुख प्रदिप अधिकारी ले २०२० भित्रै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताए ।

 

‘अहिले जुन गतिमा काम भइरहेको छ, त्यस अनुसार अन्तिमसम्म काम हुने हो भने ६ महिना अघिनै विमानस्थलको निर्माण सम्पन्न हुने छ । तोकिएको समयभन्दा छिटो काम सक्ने गरी हामी काम गरिरहेका छौँ,’ अधिकारीले चाणक्य पोष्टसँग भने ।

 

विमानस्थल निर्माण सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको छ । सो अवधिभन्दा ६ महिना अघि निर्माण काम सम्पन्न गर्ने गरी काम भइरहेको उनले बताए । विमानस्थल निर्माण सन् २०१७ को नोभेम्वर महिनादेखि शुरु भएको हो ।

 

हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चढ्ने र ओर्लने स्थान), नाला निर्माण, ह्याङगर निर्माण लगायतका काम भइसकेको उनले बताए । उनका अनुसार अब फिनिसिङ इक्यस्प्मेन्टहरु बनाउने काम गर्न बाँकी रहेको छ ।

 

विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्ने छ । ८ हजार स्क्यार मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्यार मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्यार मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो । वार्षिक ५ लाख क्षमता भएको टर्मिनल भवन निर्माण गरिदै छ ।

 

पोखरा विमानस्थलको निर्माण पूरा भएपछि बोइङ ७ सय ५७ र एयरबस ३ सय २० वा सो सरहका जहाज आवतजावत गर्न सक्नेछन् । २५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता १ सय ९२ हाराहारीमा रहने छ ।

 

सो विमानस्थल चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईले निर्माण गरिरहेको छ । विमानस्थल निर्माणमा ४ सय ५० बढी कामदार खटिएको उनले जानकारी दिए ।

अवैध गतिविधिमा संलग्न १२२ चिनियाँलाई डिपोर्ट गरिँदै Read Previous

अवैध गतिविधिमा संलग्न १२२ चिनियाँलाई डिपोर्ट गरिँदै

शेयर बजारमा करेक्शन, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

शेयर बजारमा करेक्शन, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट