यो सूचकमा ध्यान दिएर सेयरमा लगानी गर्नुहोस्, घाटा हुने संभावना न्यून हुन्छ

काठमाडौं । सेयर बजार घटेको बेलामा पनि खासै जोखिम नउठाएर बैंकको ब्याजको हाराहारी आम्दानी गर्नका लागि महत्वपूर्ण सूचक हो ‘डिभिडेन्ड यिल्ड’ । कम्पनीले दिने लाभांशलाई कम्पनीको फेस भ्यालु (नेपालको सन्दर्भमा प्रति कित्ता १०० रुपैयाँ) मा व्यक्त गर्दा आउने अंक हो, डिभिडेन्ड यिल्ड ।

 

कुल लाभांशलाई बुक क्लोज अघिको मूल्यले भाग गर्दा आएको अंकलाई प्रतिशतमा व्यक्त गरेर आउने अंकनै कम्पनीबाट आउने वास्तविक आम्दानी हो । यसैलाई ‘डिभिडेन्ड यिल्ड’ भन्दछन् । र, यसैका आधारमा यहाँ गत वर्षको लगानीमा सबैभन्दा बढी नाफामूलक विकास बैंक र वित्त कम्पनीहरुको सूची यहाँ प्रस्तुत गरिएको छ ।

सेयर बजारमा पैसा कमाउने दुईवटा तरिका हुन्छन् । पहिलो, आफूले लगानी गरेको कम्पनीको लाभांश प्राप्त गरेर । कम सेयर मूल्यमा राम्रो प्रगति गर्दै गएको कम्पनीमा लगानी गरेको छ भने यो तरिकाबाट राम्रो आम्दानी हुन्छ, लगानीकर्ताहरुलाई । दोस्रो, सेयर बजार बढेर । यस्तो अवस्थामा लगानी गरेको कम्पनीले लाभांश आकर्षक नदिए पनि कम्पनीको सेयर मूल्यमा बढोत्तरी भएको छ भने आकर्षक नाफा कमाउन सकिने भयो ।

 

समग्रमा भन्दा सेयर बजारमा लगानी गरेर कमाउने भनेको कम्पनीको लाभांशबाट वा बढेको सेयर मूल्यबाट हो ।लाभांश पनि आकर्षक छ र मूल्य पनि बढेको छ भने त झन् सुनमा सुगन्ध भइहाल्यो । त्यस्तै, सेयर मूल्य पनि घटेको छ र कम्पनीले लाभांश पनि दिएको छैन भने त झन् आपत नै परिहाल्यो ।

नेपाली सेयर बजार सुस्ताएको निकै भयो । अहिले पनि बजारले खासै गति लिन सकेको छैन । ‘बजारमा कुनै मुभमेन्ट नै छैन । अहिले बजार तलमाथी भन्दा पनि दायाँबाँया नै हल्लिरहेको अवस्था हो’, एक लगानीकर्ता भन्छन् ।

 

यस्तो अवस्थामा सेयर मूल्य बढेर कमाउने अवस्था खासै हुँदैन । अर्थात, लगानीमा पूँजीगत लाभ हुने संभावना न्यून हुन्छ । त्यसैले यस्तो अवस्थामा आफ्नो लगानीलाई सुरक्षित राख्ने र थोरै आम्दानी गर्ने भनेकै कम्पनीको लाभांशबाट हो ।

 

कम मूल्यमा सेयर किनेको छ र कम्पनीले राम्रो लाभांश दिएको छ भने लगानीकर्ताले खासै गुमाउँदैन ।उदाहरणको लागि लुम्बिनी विकास बैंंकलाई लिउँ । बुक क्लोज अघिसम्म बैंकको सेयर मूल्य प्रति कित्ता १ सय ८९ रुपैयाँ थियो । बैंकले गत वर्षको नाफाबाट २० प्रतिशत लाभांश घोषणा गर्यो । यो भनेको कसैले प्रति कित्ता १ सय ८९ रुपैयाँमा सेयर किनेको छ भने उसले कम्पनीको लाभांशबाट कुल १०.५८ प्रतिशत आम्दानी गर्यो ।

 

यसको मतलब बैंकको मुद्दती खातामा राखेको भए ९ प्रतिशत हाराहारी आम्दानी हुन्थ्यो भने लुम्बिनी विकास बैंकको सेयरमा लगानी गर्दा ९.८० प्रतिशत आम्दानी भयो । फाइदा भयो लगानीकर्तालाइ । सेयर मूल्य पनि बढ्यो भने त झन् मालामाल भइहाल्यो ।

डिभिडेन्ड यिल्डका आधारमा गत वर्षको आम्दानीबाट सबैभन्दा राम्रो आम्दानी लुम्बिनी विकास बैंकका लगानीकर्ताले गरेका छन् । यसैगरी दोस्रो राम्रो आम्दानी गर्नेमा सिन्धु विकास बैंकका लगानीकर्ता रहेका छन् । सिन्धुको डिभिडेन्ड यिल्ड ९.१९ प्रतिशत रहेको छ ।

 

डिभिडेन्ड यिल्डका आधारमा सबैभन्दा महङ्गो र कम आम्दानी भएको विकास बैंक कामना सेवा रहेको छ । उक्त बैंकमा लगानी गर्नेले ४।८२ प्रतिशतमात्र कुल आम्दानी गरेका छन् ।

 

वित्त कम्पनीहरुको कुरा गर्दा सबैभन्दा राम्रो डिभिडेन्ड यिल्ड जानकी फाइनान्सको रहेको छ । जानकीको लगानीकर्ताले आफ्नो लगानीको ११.६४ प्रतिशत खुद नाफा कमाएका छन्, पूँजीगत लाभको हिसाब नगर्दा पनि ।

सम्पती शुद्धीकरण कार्ययोजना कार्यान्वयन गर्न बीमा समितिको निर्देशन Read Previous

सम्पती शुद्धीकरण कार्ययोजना कार्यान्वयन गर्न बीमा समितिको निर्देशन

अवैध गतिविधिमा संलग्न १२२ चिनियाँलाई डिपोर्ट गरिँदै Read Next

अवैध गतिविधिमा संलग्न १२२ चिनियाँलाई डिपोर्ट गरिँदै