आइपीओ खुलाएको नेपाल माइक्रोमा मर्चेन्टदेखि अटो कम्पनीसम्मको लगानी, कसको कति ?

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्रीमा ल्याउने भएको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि आइपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको छ ।

कम्पनीको आइपीओमा फागुन १५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरूका साथै मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

९ शाखा, २ उपशाखा विस्तार

नेपाल माइक्रो लाइफ कम्पनी ऐन, २०६३ अनुसार २०७९ पुस ८ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेडको रुपमा दर्ता भएको थियो । बीमा ऐन, २०७९ तथा बीमा विनियमावली, २०४९ अनुसार २०७९ चैत २७ गते नेपाल बीमा प्राधिकरणबाट लघु बीमा सम्बन्धी कारोबार गर्न स्वीकृति प्राएके थियो । कम्पनीले २०८० वैशाख २६ गते देखि औपचारिक रुपमा लघु जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

कम्पनीको रजिस्टर्ड कार्यालय चितवनकोे भरतपुर महानगरपालिकाको वडा नं. १ मा रहेको छ । आवश्यकता अनुसार देशका जुनसुकै ठाउँ र विदेशमा समेत शाखा, उपशाखा खोल्न सक्नेछ ।

हाल यस कम्पनीले ९ शाखा, २ उपशाखा, १३ एक्स्टेन्सन काउण्टर र केन्द्रीय कार्यालयबाट आफ्नो लघु बीमा सम्बन्धी कारोबार गर्दै आइरहेको छ ।

समय सापेक्ष अनुसार नयाँ नयाँ लघु जीवन बीमा योजना तथा सेवाहरूको विकास गरी सम्भाव्य ग्राहकहरूको पहिचान गरेर आफ्नो व्यापार विस्तार गर्ने योजना रहेको छ ।

कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

१ अर्ब रुपैयाँ अधिकृत पूँजी रहेको नेपालको जारी पूँजी ७५ करोड ५० रुपैयाँ रहेको छ । हाल ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले थप पूँजी वृद्धि गर्न कम्पनीले २२ करोड ५० लाख रुपैयाँको आइपीओ जारी गर्न लागेको हो ।

आइपीओपछि कम्पनीको चुक्ता पूँजी ७५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापक सेयर होल्डरको स्वामित्व ७० प्रतिशत रहेको छ भने सर्वसाधरणको हिस्सा ३० प्रतिशत रहने छ ।

कम्पनीले चालु आवको पुस मसान्तसम्म २ लाख ४३ हजार लाख रुपैयाँ खुद नाफा कमाएको हो । ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको रिटेन्ड अर्निङमा ३२ लाख ५ हजार रुपैयाँ छ । अदर इक्विटी ३७ लाख ८१ हजार रुपैयाँ छ । चालु आवको पुससम्म कम्पनीले ३ करोड ७२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको आह्वान पत्र अनुसार चालु आर्थिक वर्षमा ७० लाख ९३ हजार, २०८२/८३ मा १ करोड ७ लाख २८ हजार र २०८३/८४ मा १ करोड ५७ लाख ८८ रुपैयाँ खुद नाफा आर्जन गर्ने प्रक्षेपन गरेको छ । त्यस्तै, संचित नाफा चालु आवमा ६२ लाख, २०८२/८३ मा १ करोड ९ लाख र २०८३/८४ मा १ करोड ७८ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।

कम्पनीले प्रतिसेयर आम्दानी चालु आवमा ०.९५ रुपैयाँ, आगामी आवमा १.४३ रुपैयाँ र आव २०८३/८४ मा २.११ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । चालु आवमा १०१.९० रुपैयाँ रहने प्रतिसेयर नेटवर्थ आगामी वर्ष १०३.३३ रुपैयाँ र आव २०८३/८४ मा १०५.४३ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

कस्तो छ रेटिङ ?

आइपीओ निष्काशनका लागि गराइएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

आइपीओबाट प्राप्त पैसा कहाँ लगानी गर्छ ?

आइपीओ जारीबाट प्राप्त हुने रकम कम्पनी ऐन, बीमा ऐन तथा अन्य प्रचलित कानुनको अधिनमा रही कम्पनीको व्यवसायिक प्रयोजनमा उपयोग गर्ने कम्पनीले जनाएको छ । त्यसैगरी नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको नयाँ लगानी निर्देशिकाले विभिन्न पूर्वाधारजन्य क्षेत्रहरू तथा राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरूमा लगानीको अवसरहरू प्रदान गरेकोले त्यस्तो क्षेत्रहरूमा लगानी विस्तारका लागि उक्त रकम उपयोगको लागि पहल गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार आइपीओबाट प्राप्त हुने २२ करोड ५० लाख रुपैयाँमध्ये १२ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपमा, ६ करोड ऋणपत्र तथा डिबेञ्चरमा, २ करोड ५० लाख नागरिक लगानी कोष तथा म्युचुअल फण्डमा र १ करोड ५० लाख शाखा विस्तार तथा भौतिक पूर्वाधार अभिवृद्धिमा खर्चिने योजना छ ।

को-को छन् प्रमोटर सेयर होल्डर ?

कम्पनीको कुल चुक्त पूँजीको ७० प्रतिशत हिस्सा संस्थापक सेयरधनीको रहेको छ । नेपाल माइक्रोमा अटोमोबाइल कम्पनी, मर्चेन्ट कम्पनीदेखि विभिन्न व्यवसायीरव्यक्तिहरू प्रमोटर सेयर होल्डरका रूपमा रहेका छन् । कम्पनीमा मुख्यगरी १४ जना प्रमोटर सेयर होल्डर रहेका छन् ।

कम्पनीमा सबैभन्दा धेरै सेयर हिस्सा दीपक भट्ट र सेन्ट्रम क्यापिटलको छ । कम्पनीमा उनीहरू दुवैको समान ११ करोड २५ लाख रुपैयाँ बराबरको ११ लाख २५ हजार कित्ता सेयर लगानी छ ।

त्यस्तै, कम्पनीमा सारथी क्यापिटलको ५ करोड ६२ लाख रुपैयाँ बराबरको ५ लाख ६२ हजार कित्ता, रहिशा शाह श्रेष्ठ, हुलास अटोक्राफ्ट र शुभम दुगडको समान ३/३ करोड रुपैयाँ बराबरको ३३/३३ लाख कित्ता सेयर छ ।

त्यस्तै, कम्पनीमा प्रेम गुरुङको १ करोड २५ लाख, प्रिन्टसेल इमेजिङको १ करोड १० लाख, लीला अग्रवाल र सुलोचना अग्रवालको समान १/१ करोड, लियोन मोटर्सको ८५ लाख, साक्षी बसंल गुप्ता, आकाशं गुप्ता र लतिका गोल्याणको समान ७५/७५ लाख रुपैयाँ सेयर लगानी छ ।

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ खुल्यो, १० हजार कित्ता भर्न पाइने Read Previous

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ खुल्यो, १० हजार कित्ता भर्न पाइने

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?