काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्पादनमूलक क्षेत्रका करिब डेढ दर्जन कम्पनी मात्रै सूचीकृत छन् । तीमध्ये पनि हाल ९ कम्पनीको मात्रै सेयर कारोबार भइरहेको छ ।
अर्थतन्त्रमा आएको मन्दीका कारण अधिकांश उत्पादनमूलक कम्पनीको व्यापारमा उच्च गिरावट आएको छ । बजारमा उपभोग्य वस्तुको माग घट्दा यस क्षेत्रका कम्पनीहरूको व्यापारमा भारी गिरावट आएको हो । जसकारण नाफामा ठूलो असर परेको छ ।
वित्तीय अवस्था जस्तो भए पनि उत्पादनमूलक क्षेत्रका कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिन्छ । अन्य क्षेत्रका कम्पनीको तुलनामा यस क्षेत्रका कम्पनीको सेयर संख्या तुलानात्मक रूपमा कम हुने र प्रायःजसो लाभांश दिने भएकाले लगानीकर्ता आकर्षित हुने गरेका छन् । यद्यपि, सबै उत्पादनमूक कम्पनीले वर्षेनी लाभांश भने दिएका छैनन् ।
सेयर बजारमा हाल कारोबार भइरहेका ९ उत्पादनमूलक कम्पनीमध्ये ४ सिमेन्ट कम्पनी छन् । नेप्सेमा हाल शिवम्, सर्वोत्तम, घोराही र सोनापुर सिमेन्ट सूचीकृत छन् । सेयर बजारमा सूचीकृत भएदेखि नै यी कम्पनीहरूको सेयरमा पनि लगानीकर्ताको आकर्षण देखिन्छ ।
शिवम् ६ वर्ष अघि सूचीकृत भएको हो भने सर्वोत्तम, घोराही र सोनापुर २ वर्ष अघि मात्र सेयर बजारमा आएका हुन् । विगतमा शिवम् सिमेन्ट सेयर बजारको ‘हटकेक स्क्रिप्ट’ समेत बनेको थियो । यसको प्रतिकित्ता मूल्य २ हजार रुपैयाँ हाराहारी पुगेको थियो । कारोबारमा आउने बित्तिकै अन्य सिमेन्ट कम्पनीको सेयरमा उच्च आकर्षण देखिएको थियो ।
सिमेन्ट कम्पनीहरूले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार २ कम्पनी नाफामा छन् भने २ घाटामा छ । जसमा सर्वोत्तमले मात्रै नाफा बढाउन सपल भएको छ भने शिवम्को नाफामा उच्च गिरावट आएको छ । घोराहीको नोक्सानी झनै बढेको छ भने सोनापुरको केही घटेको छ । समग्रमा पुससम्म सिमेन्ट कम्पनीहरू १२ करोड २७ लाख रुपैयाँ नोक्सानीम छन्। गत वर्ष यही अवधिमा सिमेन्ट कम्पनीहरू ९ करोड ६७ लाख रुपैयाँ नोक्सानीमा थिए ।
सेयर बजारमा सिमेन्ट कम्पनीको संख्या थोरै भएकाले सेयर लगानीकर्ताको रोजाइमा समेत पर्ने गरेका छन् । हामीले यहाँ चारै सिमेन्ट कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणका आधारमा तुलनात्मक समीक्षा गरेका छौं ।
चुक्ता पूँजी : चुक्ता पूँजीका आधारमा शिवम सबैभन्दा ठूलो रहेको छ । हाल शिवको चुक्ता पूँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ रहेको छ । सर्वोत्तमको ४ अर्ब ९७ करोड ५५ लाख र घोराहीको ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ छ । सोनापुरको सबैभन्दा कम ३ अर्ब ७ करोड रुपैयाँ छ ।
रिटेन्ड अर्निङ तथा जगेडा कोष : जगेडा कोष (सेयर प्रिमियमसहित)का आधारमा शिवम नै बलियो रहेको छ । यसको रिटेन्ड अर्निङ तथा जगेडा कोषको आकार ४ अर्ब १० करोड रुपैयाँ छ । शिवम्को सेयर प्रिमियममा साढे ९५ करोड र अन्य जगेडा कोषमा ३ अर्ब १५ करोड रुपैयाँ छ ।

त्यस्तै, घोराहीको सेयर प्रिमियमा २ अर्ब ६५ करोड र अन्य जगेडा कोषमा १ अर्ब ३७ करोड गरी कुल रिजर्भमा ४ अर्ब ३ करोड रुपैयाँ संचित । सर्वोत्तमको जगेडा कोषमा ३ अर्ब ९७ करोड रुपैयाँ छ । जगेडा कोषका आधारमा सोनापुर भने निकै कमजोर देखिएको छ । सोनापुरको सेयर प्रिमियम र जगेडा कोषमा गरी कुल २ अर्ब ५९ करोड रुपैयाँ मात्रै संचित छ ।
संचालन आम्दानी : संचालन आम्दानीमा सवोत्तम अगाडि रहेको छ । पुससम्म सर्वोत्तमको संचालन आम्दानी ३ अर्ब ९८ करोड रुपैयाँ छ । सोही अवधिमा यस्तो आम्दानी शिवम्कोे ३ अर्ब १० करोड, घोराही १ अर्ब ७३ करोड र सोनापुरको ९१ करोड रुपैयाँ छ ।
शिवम्ले ओपीसी सिमेन्ट मात्रै उत्पादन गर्दै आएको छ भने घोराही, सर्वोत्तम र सोनापुरले ओपीसी र पीपीसी दुवै सिमेन्ट उत्पादन गर्दै आएका छन् ।
अन्य आम्दानी : समीक्षा अवधिमा अन्य आम्दानी चारै कम्पनीको घटेको छ । अर्थतन्त्रमा आएको मन्दीका कारण यी कम्पनीको लगानी रहेका अन्य कम्पनीबाट प्राप्त हुने लाभांश घट्दा अन्य आम्दानी घटेको हो । समीक्षा अवधिमा अन्य आम्दानी पनि सर्वोत्तमको धेरै छ । पुससम्म सर्वोत्तमले ६५ करोड ९६ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ भने शिवम्ले १२ करोड २६ लाख, घोराहीले ६७ लाख र सोनापुरको ३० लाख रुपैयाँ छ ।
खुद नाफा : समीक्षा अवधिमा शिवम् र सवोत्तम सिमेन्ट मात्रै नाफामा छन् । घोराही र सोनापुर घाटामा छन् । पुससम्म सर्वोत्तमले सबैभन्दा धेरै २४ करोड १४ लाख रुपैयाँ र शिवम्ले ५ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा सर्वोत्तमको नाफा ६ गुणाले बढेको छ भने शिवम्को ६२ प्रतिशतले घटेको छ ।
यही अवधिमा घोराही सिमेन्ट ६६ करोड ७१ लाख र सोनापुर १२ करोड २० लाख रुपैयाँ नोक्सानीमा छन् । गत वर्षको तुलनामा घोराहीको नोक्सानी थप २५ करोडले बढेको छ भने सोनापुरको साढे २ करोडले घटेको छ । शिवम र सर्वोत्तमको तुलनामा घोराही र सोनापुरको व्यापार कम र खर्च धेरै हुँदा दुवै घाटामा गएका हुन् ।
प्रतिसेयर आम्दानी : सेयर लगानीकर्ताले चासोमा साथ हेर्ने प्रतिसेयर आम्दानीमा पनि सर्वोत्तम नै अघि रहेको छ । समीक्षा अवधिमा सर्वोत्तमको प्रतिसेयर आम्दानी ९.७ रुपैयाँ छ । त्यस्तै, शिवम्को २.०८ रुपैयाँ भने सोनापुर र घोराहीको क्रमशः ३.९७ रुपैयाँ र १४.६ रुपैयाँ ऋणात्मक छ ।
नेटवर्थ प्रतिसेयर : नेटवर्थमा भने घोराही अघि रहेको छ । समीक्षा अवधिमा घोराहीको नेटवर्थ १८८.३३ रुपैयाँ छ । सर्वोत्तमको १८६.६६ रुपैयाँ, सोनापुरको १८४.३६ रुपैयाँ र शिवम्को १७५.३१ रुपैयाँ छ ।
ऋण : समीक्षा अवधिमा सबैभन्दा धेरै ऋण घोराहीको रहेको छ । यस अवधिमा घोराहीको दीर्घकालीन ६ अर्ब ५८ करोड र अल्पकालीन ३ अर्ब ५७ करोड गरी कुल १० अर्ब १५ करोड रुपैयाँ ऋण रहको छ ।
त्यस्तै, सोनापुरको ४ अर्ब ३० करोड दीर्घकालीन र १ अर्ब ९६ करोड अल्पकालीन गरी कुल ६ अर्ब २६ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ । अन्यको तुलनामा शिवम्को भने ऋण थोरै छ । शिवम् तिर्न बाँकी दीर्घकालीन ऋण १६ करोड ३६ लाख रुपैयाँ र अल्पकालीन ७ करोड ५३ लाख गरी कुल ७ करोड ६९ लाख रुपैयाँ मात्रै छ । पुससम्म सर्वोत्तमको तिर्न बाँकी ऋण ३ अर्ब ७९ करोड रुपैयाँ छ ।
निष्कर्ष : वासलतका अधिकांश सूचकमा आधारमा शिवम् र सर्वोत्तम बलिया नै देखिएका छन् भने सोनापुर र घोराहीको अवस्था दयनीय छ । सोनापुर र घोराहीले तिर्नुपर्ने ऋण धेरै रहेकाले आगामी दिनमा पनि दायित्व बढ्ने हुँदा नाफा प्रभावित हुने देखिन्छ । शिवम् र सर्वोत्तमको ऋण कम भएकाले वित्तीय दायित्व कम छ ।
शिवम् र सर्वोत्तमले आइपीओ जारी गरेदेखि वर्षेनी लाभांश दिँदै आएका छन् । घोराहीले गत वर्ष १५ प्रतिशत लाभांश दिएको थियो भने यस वर्ष सेयरधनीको हात रित्तै बनाएको छ । सोनापुरले हालसम्म लाभांश दिएको छैन । हालसम्मको अवस्था हेर्दा आगामी वर्ष पनि सर्वोत्तम र शिवम्ले लाभांश बाँड्न सक्ने देखिन्छ । घोराही र सोनापुरको रिटेन्ड अर्निङमा पैसा भए पनि ठूलो नोक्सानीमा रहेकाले लाभांश नबाँड्न सक्छन् ।
दोस्रो बजारमा कारोबारका लागि शिवम्को तुलनामा सर्वोत्तम, घोराही र सोनापुरको सेयर आपूर्ति कम छ । शिवम्को प्रमोटरको सेयर लकिङ खुलिसकेकाले सूचीकृत सबै सेयर कारोबार योग्य छ । घोराही, सर्वोत्तम र सोनापुरको संस्थापक सेयर अझै डेढ वर्ष लकिङमै रहन्छ । सेयर संख्या कम भएकाले शिवम्को तुलनामा अरू सिमेन्टको सेयर मूल्यमा चलखेल हुनसक्ने सम्भावना पनि देखिन्छ ।
आधारभूत वित्तीय सूचकमा शिवम् र सर्वोत्तम बलियो देखिन्छन् । तर, नेपाली सेयर बजारका कम्पनीहरू वित्तीय सूचकका आधारमा भन्दा पनि हल्ला र चलखेलका आधारमा मूल्य बढ्ने गरेका दृष्टान्त धेरै छन् । यस्तोमा लगानीकर्ताले वित्तीय अवस्था बलियो रहेको कम्पनीको सेयरमा लगानी गर्ने कि लहडकोपछि लागेर कमजोर कम्पनीमा जोखिम मोल्ने भन्ने आफैंले विचार गर्नुपर्छ ।