मुग्लिन-पोखरा सडकको ७८% काम सकियो, ३४ किमी चार लेन कालोपत्र

तनहुँ । मुग्लिन-पोखरा सडकअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक विस्तार कार्य ७७.७ प्रतिशत भौतिक प्रगति भएको छ ।

पूर्वी खण्डमा पर्ने ४१.४५ किलोमिटर चार लेन सडक कालोपत्र गर्नुपर्नेमा हालसम्म दुई लेन ७२.१ किमी सडक कालोपत्र गरिएको हो । त्यसमा ३४.५ चार लेन र ३.१ दुई लेन सडक कालोपत्र गरिएको हो ।

आयोजनाका अनुसार ४४ किमी सडकमा दोस्रो (अन्तिम चरण) को कालोपत्र भएको छ । सोमा १५.६ चारलेन र १२.७३ किलोमिटर दुई लेन रहेको आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

पहिलो चरणमा ६ सेन्टिमिटर मोटाइको सडक कालोपत्र गरिएको थियो । दोस्रो चरणमा चार सेमी गरी कुल १० सेन्टिमिटरको सडक कालोपत्र हुनेछ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकबाट ‘डबल लेयर’को कालोपत्र कार्य अघि बढाउनाका साथै कालोपत्र नगरिएका स्थानमा पनि काम सुरु गरिएको उनले बताए।

‘दुईतर्फी सडकमध्ये एकतर्फी कालोपत्र भई बाँकी रहेका अर्को सडक साइडमा पनि कालोपत्रको कार्य अघि बढाइएको छ,’ उनले भने, ‘जिल्लाको सदरमुकाम दमौली खण्डमा अहिले सडक विस्तार कार्यले गति लिइरहेको छ ।’

पृथ्वी राजमार्गको पूर्वी खण्डमा पर्ने आँबुखैरेनी-जामुने विसं २०७७ माघ १७ गते चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

विसं २०८१ वैशाखसम्म काम सम्पन्न गर्नेगरी सम्झौता गरिएको थियो । हाल पुनः म्याद थप गरी निर्माण कार्यलाई निरन्तरता दिइएको छ । एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा चार लेनमा सडक विस्तार भइरहेको हो ।

नेप्सेमा लगातार चौथो दिन वृद्धि, पुनर्बीमा कम्पनीको सेयरमा उच्च आकर्षण Read Previous

नेप्सेमा लगातार चौथो दिन वृद्धि, पुनर्बीमा कम्पनीको सेयरमा उच्च आकर्षण

नवीकरणीय ऊर्जा कार्यक्रम २ वर्ष थप्न वेलायतलाई मन्त्रीको आग्रह Read Next

नवीकरणीय ऊर्जा कार्यक्रम २ वर्ष थप्न वेलायतलाई मन्त्रीको आग्रह