काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरूको सेयर मूल्यमा उछाल आएको छ । समग्रमा सेयर बजारले खासै गति लिन नसके पनि लघुवित्तको सेयर ‘हटकेट’ बन्दै गएको हो ।
पछिल्लो १ वर्षमा नेप्से परिसूचक करिब ८०० अंकले बढेको छ । गत वर्ष फागुनमा १९७० बिन्दुमा रहेको नेप्से हाल २७४० बिन्दुमा छ । यद्यपि, गत साउनमा ३ हजार बिन्दुसम्म पुगेको थियो । तर, यही अवधिमा माइक्रोफाइनान्स समूहको परिसूचक झण्डै दोब्बरले बढेको छ । गत फागुनमा ३५०० बिन्दुमा रहेको लघुवित्त समूहको परिसूचक ५३६१ बिन्दुमा पुगेको छ । १ वर्षमा यस समूहको परिसूचक २८७२ अंक अर्थात् ८२ प्रतिशतले बढेको छ ।
लघुवित्त समूहमै उछाल आउँदा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । यस अवधिमा लघुवित्त कम्पनीको सेयर मूल्य ४ गुणासम्मले बढेको छ ।
गत फागुनमा मुस्किलले १ दर्जन लघुवित्तको सेयर मूल्य १ हजार रुपैयाँ माथि रहेको थियो । तर, अहिले ठीक उल्टो १ दर्जन लघुवित्तको सेयर मूल्य १ हजारभन्दा कम छ ।
नेप्सेमा सूचीकृत ५० लघुवित्तमध्ये हाल १६ वटा लघुवित्तको मात्रै सेयर १ हजार रुपैयाँभन्दा कममा किन्न पाइन्छ । अहिले १३ लघुवित्तको सेयर मूल्य २ हजार माथि छ भने २१ लघुवित्तको सेयर मूल्य १ हजारदेखि २ हजार रुपैयाँको बीचमा छ ।
हाल आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सबैभन्दा महँगो ४९५१ रुपैयाँ रहेको छ निर्धन उत्थानको सबैभन्दा सस्तो ७०० रुपैयाँ रहेको छ ।
यी हुन् १ हजारभन्दा कममा पाइने लघुवित्त
हाल नेप्सेमा सूचीकृत ५० मध्ये १६ लघुवित्तको मात्रै सेयर मूल्य १ हजारभन्दा कम छ । जसमा मेरो माइक्रोफाइनान्स, आरएसडीसी, एनआइसी एशिया, नेरुडे मिर्मिरे र निर्धन उत्थानको सेयर मूल्य ७०० देखि ८०० रुपैयाँ बीचमा छ ।
त्यस्तै, सूर्योदय वोमी, साना किसान, फर्स्ट माइक्रोफाइनान्स, डिप्रोक्स, एनएमबी र छिमेक लघुवित्तको सेयर मूल्य ८०० देखि ९०० रुपैयाँको बीच्मा छ । त्यसैगरी, स्वाबलम्बन, समता घरेलु, ग्रामीण विकास, आरम्भ चौतारी र विजय लघुवित्तको सेयर मूल्य ९०० देखि १ हजार रुपैयाँको बीचमा छ ।
किन बढ्दै छ लघुवित्तको सेयरमा आकर्षण ?
लघुवित्तहरूको सेयर मूल्य बढ्नुमा मुख्य ३ कारण देखिन्छन् । लघुवित्त संस्थाहरूको वित्तीय अवस्थामा सुधार आउनु, विगतको तुलनामा सेयर मूल्य सस्तो हुनु र सेयर संख्या थोरै भएकाले चलखेल हुँदा छोटो समयमै लघुवित्तको सेयर मूल्यमा उछाल आएको हो ।
यो पनि पढ्नुहोस् : लघुवित्तहरूको नाफामा उछाल, डेढ दर्जनको दोब्बरले बढ्यो, कुनको कति ?
लघुवित्तको सेयर मूल्य बढ्नुको पहिलो कारण वित्तीय अवस्थामा सुधार आउनु हो । आर्थिक शिथिलताका बाजूद चालु आवको दोस्रो त्रैमासमा लघुवित्तहरूले वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेका छन् ।
गत वर्ष लघुवित्त विरुद्धको अराजक आन्दोलन र अर्थतन्त्रमा आएको मन्दीका लघुवित्त व्यवसाय चौपट बनेको थियो । आम्दानी गर्न नसक्दा २ दर्जन लघुवित्त घाटामा थिए भने ऋण असुली नहुँदा खराब कर्जा अचाक्ली बढेको थियो ।
तर, पछिल्लो त्रैमासमा अधिकांश लघुवित्तको नाफामा उल्लेख्य सुधार आएको छ । गत वर्षको तुलनामा चालु आवमा लघुवित्तहरूले खुद नाफा औसतमै ५३ प्रतिशतले बढाएका छन् । राष्ट्र बैंकले दिएको कर्जा पुनर्तालिकीकरण/पुनर्संरचनाको सुविधा र अर्थतन्त्रमा आएको सुधारका कारण कर्जा असुली रिकभरी हुन थालेको छ । खराब कर्जा घटेको छ भने बैंकको ब्याजदर पनि घट्दो क्रममा छ । साथै, नयाँ व्यवसाय क्रमशः बढाउँदै लगेका छन् ।जसकारण समग्र लघुवित्त व्यवसायमा सुधार देखिएको छ । व्यवसायमा सुधार आएसँगै आगामी दिनमा नाफा बढ्ने र लाभांश दिने आसमा लगानीकर्ता लघुवित्तको सेयरमा आकर्षित भएका हुन् ।
त्यस्तै, पछिल्लो समय लघुवित्तहरूको सेयर मूल्य ३ वर्ष यताकै सस्तो भएको थियो । लाभांश वितरणमा राष्ट्र बैंकको कडाइ र समग्र सेयर बजारमा आएको गिरावटका कारण लघुवित्तहरूको सेयर मूल्य निकै सस्तो भएको थियो । गत बुलमा अधिकांश लघुवित्तको सेयर मूल्य २ हजार माथि पुगेको थियो भने त्यसयता घटेर घटेर ५०० रुपैयाँ हाराहारीसम्म आएको थियो । आगामी दिनमा सेयर बजारले गति लिने अपेक्षा र मूल्य निकै सस्तो भएकाले लगानीकर्ताहरूले धमाधम लघुवित्तको सेयर किन्न थालेका हुन् । विगतमा महँगोमा सेयर किनेकाले सस्तोमा सेयर किनेर एभरेजिङ गर्न थालेका छन् । जसले मूल्य ह्वात्तै बढेको हो ।
पछिल्लो समय राष्ट्र बैंकले लघुवित्त संस्थाहरू माथि लगाएको अंकुश क्रमशः हटाउँदै लगेको छ । विगतमा बम्पर लाभांश दिँदै आएका लघुवित्तहरूले आगामी दिनमा पनि उच्च लाभांश दिनसक्ने भएकाले लगानीकर्ता सेयरमा आकर्षित हुन थालेका छन् ।
लघुवित्तको सेयर मूल्य बढ्नुको अर्को कारण हो सेयर संख्या कम हुनु । नेप्सेमा सूचीकृत १३ समूहका कम्पनी मध्ये लघुवित्त तुलनात्मक रुपमा सबैभन्दा कम चुक्ता पूँजी हुने कम्पनीमा पर्छन् । सेयर संख्या कम हुँदा आपूर्तिभन्दा माग धेरै हुँदा मूल्य बढेको हो । यद्यपि, केही लघुवित्तको सेयर मूल्य भने कर्नरिङ गरी उचालिएको पाइन्छ ।
गत आवको कात्तिकदेखि लगातार ब्याजदर घट्दो क्रममा छ । राष्ट्र बैंकले सेयर बजारमा लगाएको नीतिगत अंकुशहरू क्रमशः हटाउँदै लगेको छ । अर्थतन्त्रमा क्रमशः सुधारका संकेत देखिन थालेका छन् । जसकारण आगामी दिनमा बजारले अझै गति लिने आसमा लगानीकर्ताले सेयर किन्न थालेको देखिन्छ ।