काठमाडौं । सुनसरीमा पालिएका कुखुरामा बर्डफ्लू देखिएको छ । कोशी गाउँपालिका–६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लू रोग पुष्टि भएको हो ।
कृषि तथा पशुपन्छि विकास मन्त्रालयका अनुसार फागुन ६ गते उक्त फार्ममा रहेको कुखुरामा बर्डफ्लू पुष्टि भएको हो ।
बर्डफ्लू पुष्टि भएपछि मन्त्रालयले उक्त फार्मलाई केन्द्र बिन्दु मानी चार किल्ला तोकेको छ । मन्त्रालयले सप्तकोशी फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची बाटोसम्म, पश्चिममा खुल्ला मैदान २०० मिटरको दूरीसम्म, खुल्ला मैदान १५० मिटरको दूरीसम्म, खुल्ला मैदान ३०० मिटरको दूरीसम्म चार किल्ला तोकेको हो ।
मन्त्रालयले बर्डफ्लू नियन्त्रण गर्न सुनसरीमा प्रमुख जिल्ला अधिकारीलाई पत्र समेत लेखेको छ । मन्त्रालयले प्रमुख जिल्ला अधिकारी पत्र लेख्दै भनेको छ, ‘चार किल्ला भित्रको क्षेत्रमा बर्डफ्लू नियन्त्रण नियमावली, २०७८ को नियम ५ र ६ बमोजिम रोग नियन्त्रण कार्य सञ्चालन गराउन तथा यस क्रममा सुनसरी जिल्लाको अन्य स्थानमा रोग प्रमाणित भएमा पनि सोही बमोजिम रोग नियन्त्रण कार्य सञ्चालन गर्न आवश्यक समन्वय, सहजिकरण तथा सहकार्यको लागि अनुरोध छ ।’