आजदेखि हाँडीगाउँ क्षेत्रका यी सडक ‘वान वे’

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि हाँडीगाउँ क्षेत्रका विभिन्न सडकहरु एकतर्फी (वान वे) बनाएको छ ।

गत पुस ५ गते बसेको महानगरको भवन व्यवस्था समितिको बैठकको निर्णय अनुसार आजदेखि हाँडीगाउँ क्षेत्रका आधा दर्जन सडक एकतर्फी बनाइएको हो ।

महानगरले यसअघि नै हाँडीगाउँमा प्रत्येक शनिबार सवारी साधन पूर्णरुपमा निषेध गर्दै आएको थियो ।

महानगरका अनुसार अब सवारी साधनले काठमाडौँ महानगरपालिका-५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग-हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने छन् ।

त्यस्तै, विशालनगरतर्फबाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महांकाल तर्फमात्र प्रवेश गर्न पाउने, हाँडीगाउँ हुँदै ढुंगेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्ग तर्फबाट पठाइने व्यवस्था गरिएको छ ।

त्यसैगरी, नक्साल भाटभटेनीतर्फबाट आउने सवारी साधनहरू वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने, ढुंगेधाराबाट हात्ती महांकालतर्फ प्रवेश निषेध र वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध गरिएको छ ।

बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिरतर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध गरिएको महानगरले जनाएको छ ।

सडक एकतर्फी भएपछि आउजाउमा सहज हुने विश्वास गरिएको छ ।

नेपालमा एमसीसी परियोजना स्थगित Read Previous

नेपालमा एमसीसी परियोजना स्थगित

आगामी आर्थिक वर्षको बजेटका लागि १९ खर्बको सिलिङ Read Next

आगामी आर्थिक वर्षको बजेटका लागि १९ खर्बको सिलिङ