नेपालमा एमसीसी परियोजना स्थगित

काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)द्वारा नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए)नेपालका कार्यक्रम स्थगन गर्ने जानकारी गराएको छ ।

अर्थ मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति मार्फत तीन महिनाका लागि एमसीए नेपाल कार्यक्रम स्थगित भएको औपचारिक जानकारी दिइएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सहायता संस्था एमसीसीले फागुन २ मा पठाएको इमेलमा नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्टअन्तर्गत कार्यन्वयन भइरहेका आयोजनासँग सम्बन्धित एमसीसी कोषबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको २० जनवरी २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालालाई जानकारी गराइन्छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै खाले वैदेशिक अनुदान रोक्ने कार्यकारी आदेश जारी गरेपछि एमसीसी पनि रोकिएको हो । नेपालमा यूएसएआइडी मार्फत संचालन भएका अन्य कार्यक्रम यसअघि नै रोकिएका थिए ।

अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा एमसीसी २०८० भदौ २९ देखि कार्यान्वयनमा आएको थियो । एमसीसीको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ५० लाख अमेरिकी डलर योगदानमा विद्युत् प्रसारण लाइन, सबस्टेसन र सडक सुधार आयोजना सञ्चालन हुँदै थिए ।

एमसीसी परियोजनाअन्तर्गत ४०० केभीको डबल सर्किट ३१५ किलोमिटर विद्युत् प्रसारण लाइन र सडक अन्तर्गत दाङको भालुबाङदेखि बाँकेको शिवखोलासम्म ७७ किलोमिटर सडक स्तरोन्नति गरिने योजना थियो ।

योजना अन्तर्गत ३१५ किलोमिटर लामो प्रसारण लाइन अन्तर्गत १८ किमीको ठेक्का लागिसकेको छ भने २९७ किमीको लागि अहिले ग्लोबल टेन्डर आह्वान भई प्रक्रियामा छ । सबस्टेशनतर्फ तीन वटैको ठेक्का लागिसकेको छ ।

भक्तपुरमा सडक अनुसार तोकियो सवारीकाे गति, रातिमा पनि राडार गनको प्रयोग Read Previous

भक्तपुरमा सडक अनुसार तोकियो सवारीकाे गति, रातिमा पनि राडार गनको प्रयोग

आजदेखि हाँडीगाउँ क्षेत्रका यी सडक 'वान वे' Read Next

आजदेखि हाँडीगाउँ क्षेत्रका यी सडक 'वान वे'