१ महिनामै साढे ४ हजार सवारी साधन दुर्घटनामा परे, ५५% मोटरसाइकल

काठमाडौं । गएको माघमा अत्यधिक सवारी साधन दुर्घटना भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार माघमा मात्रै ४ हजार ५३५ सवारी साधन दुर्घटनामा परेका हुन् ।

कुल २ हजार ९०६ दुर्घटनामा यती धेरै सवारी साधन परेका हुन् । ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेकामध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशरकुमार आचार्यले जानकारी दिए । उनका अनुसार एक महिनामा कुल दुर्घटनामा परेका सवारी साधनमा मोटरसाइकल मात्रै २ हजार ४७४ रहेका छन् । यो कुल दुर्घटनाको ५४.५५ प्रतिशत हो ।

त्यसपछि जिप कार र भ्यान, माइक्रो २१.२१ प्रतिशत दुर्घटना भएको छ । अन्यमा बस ५.५३, ट्रक, ट्याङ्कर ६.२, ट्याक्टर २.३६ प्रतिशत र टेम्पो ५.१८ प्रतिशत दुर्घटना भएका छन् । अन्य डोजर, लोडरलगायतका सवारी साधन पनि दुर्घटनामा परेको पाइएको छ ।

दुर्घटनाका कारण

सबैभन्दा बढी दुर्घटना तीव्र गतिका कारण भएको पनि प्रहरी प्रधान कार्यालयको विश्लेषणले निष्कर्ष निकालेको छ । चालकको लापरबाहीले १ हजार १७९ दुर्घटना भएका छन् ।

त्यसपछि चालकको लापरबाही, मादक पदार्थ सेवनले बढी दुर्घटना भएका छन् । बटुवाले बाटो काट्दा पनि दुर्घटना भएका छन् । चालकको लापरबाहीले ८६४, मापसे गरेर २०४ लगायत दुर्घटना भएका छन् ।

१९९ को मृत्यु

ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १४७ पुरुष, ३९ महिला, ११ बालक र दुई बालिका रहेका छन् । त्यस्तै, ती दुर्घटनामा ५६० जना गम्भीर घाइते र तीन हजार ३५१ जना सामान्य घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

लघुवित्त चम्किँदा नेप्सेमा उच्च अंकको वृद्धि, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

लघुवित्त चम्किँदा नेप्सेमा उच्च अंकको वृद्धि, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

सिमेन्टको मूल्य वृद्धिप्रति सांसदहरूको आपत्ति, सभामुखमार्फत सरकारको ध्यानाकर्षण Read Next

सिमेन्टको मूल्य वृद्धिप्रति सांसदहरूको आपत्ति, सभामुखमार्फत सरकारको ध्यानाकर्षण