राजस्व संकलनमा सरकार लक्ष्यभन्दा झण्डै २ खर्ब पछाडि, पूँजीगत खर्च दयनीय

काठमाडौं । प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्रमा सुधार आइरहेको बताए पनि सरकारी तथ्यांकले भने शिथिलता कायमै रहेको देखाएको छ । आर्थिक गतिविधि सुस्त नै रहँँदा सरकारको आम्दानी लक्ष्य अनुसार बढ्न नसकेको देखिएको हो ।

चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । माघ मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको ४५ प्रतिशत मात्रै राजश्व उठाउन सकेको छ भने करिब ४४ प्रतिशत बजेट खर्च गर्न सकेको हो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले चालु आवको ६ महिना कुल ६ खर्ब ४२ अर्ब ८५ करोड ३९ लाख राजश्व सङ्कलन गरेको छ । जसमा करबाट ५ खर्ब ६५ अर्ब र गैरकरबाट ७७ अर्ब २१ करोड रुपैयाँ उठाएको छ । त्यस्तै, अन्य शिर्षकमा ८ अर्ब ५ करोड रुपैयाँ आम्दानी गरेको छ ।

सरकार चालु आवमा लक्ष्य अनुसार भने राजस्व उठाउन असफल भएको छ । चालु आवमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड बराबर राजस्व उठाउने लक्ष्य राखेको छ । सो अनुसार औसतमा मासिक १ खर्ब १८ अर्ब २७ राजस्व उठाउनु पर्छ । लक्ष्य अनुसार ७ महिनामा ८ खर्ब २७ रुपैयाँ ८९ करोड रुपैयाँ राजस्व उठाउनुपथ्र्यो ।

तर, सरकारले माघसम्म ६ खर्ब ४२ अर्ब ८५ करोड रुपैयाँ मात्रै राजस्व उठाउन सकेको छ । राजस्व संकलनमा सरकार लक्ष्यभन्दा १ खर्ब ८५ अर्ब ४ करोड रुपैयाँ पछि छ । सरकारले चालु आवको कुनै पनि महिना राजस्वको लक्ष्य भेटाउन सकेको छैन ।

पूँजीगत खर्च अति न्यून

लक्ष्य अनुसार राजस्व उठाउन नसकेको सरकारले विकास खर्च पनि गर्न सकेको छैन । ७ महिनामा जम्मा ६८ अर्ब ४१ करोड रुपैयाँ मात्रै पूँजीगत खर्च भएको छ । यो लक्ष्यको १९.४२ प्रतिशत मात्रै हो । चालु आवमा सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको छ ।

पूँजीगत खर्च गर्न नसकेको सरकारको चालु खर्च भने केही बढी नै भएको छ । चालुगत शीर्षकमा माघ मसान्तसम्मको खर्च ४५.८२ प्रतिशत छ । यो वर्ष चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा हालसम्म ५ खर्ब २२ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ बराबर खर्च भएको हो ।

त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा छुट्याइएको बजेट वार्षिक लक्ष्यको ४४.६ प्रतिशत खर्च भएको छ । मुख्यगरी सार्वजनिक ऋणको साँवा र ब्याज तीर्न खर्च हुने वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका लागि ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएको थियो । उक्त शीर्षकमा हालसम्म १ खर्ब ६३ अर्ब ८१ करोड १२ लाख रुपैयाँ बराबर खर्च भएको हो ।

चालु आवको ७ महिनामा सरकारले कुल ७ खर्ब ५४ अर्ब ८५ करोड ३४ लाख रुपैयाँ बजेट खर्च गरेको छ । यो कुल बजेटको ४०.५८ प्रतिशत हो ।

चालु आवको ७ महिनामा सरकारको आम्दानीभन्दा खर्च १ खर्ब १२ अर्ब धेरै रहेको छ ।

अनुदान प्राप्ति पौने ९ अर्ब

चालु आवको मंसिरसम्म वैदेशिक अनुदान प्राप्ति शून्य रहेकोमा पछिल्ला दुई महिनामा भने केही सधार देखिएको छ । पुस र माघमा गरेर सरकारले करिब ९ अर्ब रुपैयाँ अनुदान पाएको छ । सरकारले चालु वर्षमा ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेकोमा हालसम्म ८ अर्ब ८२ करोड रुपैयाँ प्राप्त भएको छ । यो लक्ष्यको १६.८७ प्रतिशत मात्र हो ।

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न, आजै पानी वितरण गरिने Read Previous

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न, आजै पानी वितरण गरिने

भायानेट बन्यो महिला च्याम्पियनसिपको शीर्ष प्रायोजक Read Next

भायानेट बन्यो महिला च्याम्पियनसिपको शीर्ष प्रायोजक