बेरोजगारलाई रोजगारी दिन श्रम बैंक खोल्दै सरकार

काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयले श्रम  बैंक खोल्ने भएको छ । श्रमिकहरूकाे सहभागितामा श्रमिकहरूकै वित्तिय आवश्यक्ता परिपूर्ति गर्न सहयोग पुर्याउने गरी श्रमबैक स्थापना गर्ने विषयमा मन्त्रालयले अध्ययन शुरु गरेको हो ।नेपालमा भएका बेरोजगारहरुलाई रोजगार दिने लक्ष्यका साथ श्रम बैंक खोल्न लागिएको श्रम मन्त्रालयले जनाएको छ ।

 

आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रामेश्वर राय यादवले नेपालमा बेरोजगारलाई रोजगार तथा दक्षता अभिवृद्धि गराउन श्रम बैंकको स्थापना गर्न लागिएको बताए । उनले श्रम बैंकको माध्यमबाट बेरोजगारलाई दक्षता सहितको रोजगार दिइने बताए ।

 

‘हामीहरु ७ वटै प्रदेशमा ट्रेनिङ सेन्टर खोलेर र उनीहरुलाई प्रमाण पत्र दिन्छौं । हामीबाट दक्षता हासिल गरेकालाई उनीहरुको दक्षता अनुसार रोजगार उपलब्ध गराउने हाम्रो योजना हो,’ मन्त्री यादवले भने । उनले देशविदेश सबैतिर रहेका नेपालीहरु यो श्रम बैंकमा आउन सक्ने बताए ।

 

मन्त्रालयले देशभरका ६० हजार बेरोजगारलाई न्यूनतम सय दिनको रोजगार दिने योजना बनाएको छ । त्यसका लागि ५ अर्ब बजेट विनियोजन गरेको छ । यस योजनालाई प्रत्येक प्रदेश र स्थानीय तहबाट सञ्चालनमा ल्याउने जनाइएको छ । साथै, प्रदेशहरुमा यसको कार्यन्वयनको प्रभावकारी अनुगमन गरिने मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अन्य कार्यक्रमहरू

मन्त्रालयले वैदेशिक रोजगार बोर्डबाट थप १० हजार जनालाई निशुल्क तालिम प्रदान गर्ने योजना बनाएको छ । साथै वैदेशिक रोजगारबाट फर्केका कामदारहरुका लागि आर्थिक तथा सामाजिक पुनः एकीकरण कार्यक्रम कार्यान्वयनमा ल्याइने भएको छ ।

 

मन्त्रालयले बिमा र कल्याणकारी कोष वापतको रकम अनलाइन प्रणालीमार्फत बुझाउने व्यवस्था गर्ने भएको छ । साथै, दुई वर्ष पुराना सबै संस्थागत उजुरीहरुको छानबिन प्रक्रिया सम्पन्न गर्ने योजना रहेको छ ।

 

आगामी दिनहरुमा ओमनसँग द्विपक्षीय श्रम समझदारी गर्ने कार्ययोजनामा उल्लेख छ । यस्तै वैदेशिक रोजगार विभागका सबै अभिलेख विद्युतीय अभिलेखांकन गर्ने भएको छ । विदेशस्थित कुटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयनमा ल्याउने मन्त्रालयको योजना छ ।

 

आगामी तीन महिनामा मन्त्रालयले १५ हजार रोजगारदाता र थप १ लाख योगदानकर्तालाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने योजना रहेको छ ।

 

यसैगरी कृषिमा आवद्ध कृषकहरुलाई समेत श्रमिकको दायरामा ल्याउने मन्त्रालयको आगामी कार्ययोजनामा उल्लेख छ । त्यसका लागि मन्त्रालयले छुट्टै प्राविधिक टोली बनाउँदै छ भने उनीहरुको व्यवस्थापनका लागि समेत कार्य योजना बन्ने क्रममा रहेको मन्त्री यादवले बताए ।

३० चमत्कारिक फाइदा सहित एनआईसी एशिया न्यू सुपर चमत्कारिक निक्षेप योजना सार्वजनिक Read Previous

३० चमत्कारिक फाइदा सहित एनआईसी एशिया न्यू सुपर चमत्कारिक निक्षेप योजना सार्वजनिक

एभरेष्ट बैंकको एनआरएन बचत खातामा विशेष सुविधा Read Next

एभरेष्ट बैंकको एनआरएन बचत खातामा विशेष सुविधा