काठमाडौं । ताप्लेजुङमा निर्माणाधीन पाथीभरा (मुक्कुमलुङ) केबलकार निर्माणको विरोधमा आन्दोलनरत ‘नो केबलकार समूह’ पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
मन्त्रिस्तरीय वार्ताको माग गर्दै आएको आन्दोलनरत पक्षले सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नहुने भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
उनीहरूले फागुन ६ गतेदेखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गर्ने, केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका घेराउ गर्ने भएका छन् । त्यस्तै, काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोध सभा गर्नेलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
यसअघि आइतबार बसेको सरकार र आन्दोलनरत ‘नो केबलकार समूह’ बीचको बैठक मुख्य विषयवस्तुमा प्रवेश नै नगरी सकिएको थियो । उनीहरुले उच्चस्तरीय वा मन्त्रिस्तरीय टोलीसँग मात्र वार्ता गर्ने बताएका थिए ।
त्यसअघि माघ २३ गते सरकार र आन्दोलनरत पक्ष बीच ६ बुँदे सहमति भएको थियो ।