काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने स्टिल र आल्मुनियममा थप २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।
उनले कुनै एउटा देश नतोकी सबै देशबाट आयात हुने आल्मुनियम र स्टिलमा कर घोषणा गरेका हुन् । उनको यस निर्णयले क्यानडा र मेक्सिकोलाई सबैभन्दा धेरै असर पर्नेछ । क्यानडा र मेक्सिको अमेरिकाका प्रमुख स्टिल साझेदार हुन् ।
उनले अमेरिकाले थप कर घोषणा गर्दा अरू देशले पनि प्रतिकारात्मक कर लगाउन सक्ने बताएका छन् । ‘उनीहरू (अरू देश)ले चार्ज हामी पनि गर्छौं,’ ट्रम्पले सञ्चारकर्मीसँग भने ।
राष्ट्रपतिको पहिलो कार्यकालमा ट्रम्पले क्यानडा, मेक्सिको र युरोपियन युनियनबाट आयात हुने स्टिलमा २५ प्रतिशत र आल्मुनियममा १० प्रतिशत कर लगाएका थिए ।
तर, त्यसको एक वर्षपछि अमेरिकाले मेक्सिको र क्यानडामाथि लगाइएको कर अन्त्य गरेको थियो । युरोपियन युनियनलाई लगाइएको कर भने सन् २०२१ सम्म यथावत् राखिएको थियो ।