
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ८६.७८ प्रतिशतले बढेको हो ।
सिटिजनले चालु वर्षको पुस मसान्तसम्म २३ करोड ९ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा झण्डै ११ करोड रुपैयाँ धेरै हो । सिटिजनले गत वर्ष पुससम्म १२ करोड ३६ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क र अन्य ऋण तथा लगानीबाट हुने आम्दानी बढ्दा खुद नाफामा उच्च वृद्धि भएको हो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क संकलन २३.६९ प्रतिशतले बढेर ३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । पुससम्म कम्पनीले अन्य ऋण तथा लगानी आम्दानी २८.३३ प्रतिशत बढेर ९५ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
हाल ३ अर्ब ९३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको सेयर प्रिमियम कोषमा १ अर्ब ५५ करोड रुपैयाँ संचित छ । कम्पनीको रिटेन्ड अर्निङमा ८३ करोड ८० लाख रुपैयाँ र महाविपत्ती कोषमा १९ करोड २८ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी झण्डै दोब्बरले बढेर ११.७३ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८१.८२ रुपैयाँ छ ।