काठमाडौं । विगतका वर्षहरूमा झैं यस वर्ष पनि राष्ट्रिय गौरवका सडक आयोजनाहरूको बजेट खर्च निराशाजनक रहेको छ । लक्ष्य अनुसार ती आयोजनाहरूको काम हुन नसक्दा बजेट खर्च पनि हुन नसकेको हो ।
चालु आर्थिक वर्ष २०८१/८२ मा कुल २७ वटा राष्ट्रिय गौरवका आयोजना मध्ये १९ वटा आयोजनाका लागि जम्मा ६६ अर्ब ७५ करोड ३ लाख रुपैयाँ विनियोजन गरिएको थियो । सोमध्ये ६ महिना (पुस मसान्त)सम्मको अवधिमा जम्मा १७ अर्ब १५ करोड ३२ लाख रुपैयाँ खर्च भएको छ । जस अनुसार राष्ट्रिय गौरवका आयोजनाको समीक्षा अवधिमा २५.७० प्रतिशत खर्च भएको छ ।
ठेकेदारको ढिलासुस्ती, रुख कटानमा ढिलाइ, निर्माण समग्रीको अभाव, सरकारको वेवास्ता, ठेक्का प्रक्रियामा ढिलाइ लगायत कारणले राष्ट्रिय गौरवका सडकले आयोजनाले गति नलिँदा बजेट पनि खर्च हुन नसकेको हो ।
केही आयोजनाका कामले गति लिए पनि स्रोत अभावमा भुक्तानी हुन बाँकी रहँदा बजेट खर्च न्यून देखिएको अर्थ मन्त्रालयले जनाएको छ ।
समीक्षा अवधिमा प्रमुख विकासे मन्त्रालयको रुपमा रहेको भौतिक मन्त्रालयको समग्र बजेट खर्च निराशाजनक रहेको छ । चालु आवको आधा वर्ष बित्दा यस मन्त्रालयको पूँजीगत खर्च २२.४३ प्रतिशत मात्र रहेको छ ।
मन्त्रालयका लागि चालु आर्थिक वर्षमा पूँजीगततर्फ १ खर्ब ४२ अर्ब ९४ करोड बजेट विनियोजन भएको थियो । त्यसमध्ये पुससम्म ३२ अर्ब ६ करोड रुपैयाँ मात्र खर्च भएको छ । राष्ट्रिय गौरवका आयोजनामा पनि सोचेअनुरूप खर्च हुन नसक्दा समग्र मन्त्रालयको बजेट खर्च न्यून भएको हो ।
कुन आयोजनाले कति खर्च गरे ?
सरकारले उच्च प्राथमिकतामा राखेको काठमाडौं–तराईरमधेश द्रुतमार्गको बजेट खर्च सबैभन्दा निराशजनक रहेको छ । पुससम्म आयोजनाले चालु आवको बजेटको २३.५९ प्रतिशत मात्र खर्च गरेको छ । सडक आयोजना मध्ये सबैभन्दा धेरै २२ अर्ब ५४ करोड रुपैयाँ बजेट पाएको द्रुतमार्गले ६ महिनामा ५ अर्ब ३१ करोड रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।
७० किलोमिटर लामो यस सडकखण्डलाई ११ प्याकेजमा विभाजन गरी निर्माणको काम भइरहेको छ । ११ प्याकेजमध्ये अझै २ खण्डको ठेक्का लाग्न सकेको छैन । नेपाली सेनाले निर्माण गरिरहेको यस सडकको हालसम्म कुल भौतिक प्रगति ३७ प्रतिशत हाराहारीमा रहेको छ ।
त्यस्तै, चालु आवमा मध्यपहाडी राजमार्गको बजेट खर्च पनि निकै सुस्त रहेको छ । ३ अर्ब ६८ करोड रुपैयाँ बजेट पाएको यस सडकले पुससम्म ३०.६५ प्रतिशत अर्थात् १ अर्ब १२ करोड रुपैयाँ मात्र खर्च गरेको छ ।
चालु आवमा मदन भण्डारी राजमार्गको बजेट खर्च भने उत्साहजनक रहेको छ । यस आयोजनाले विनियोजन गरेको कुल बजेटको ७९ प्रतिशत खर्च गरिसकेको छ । ४ अर्ब ३ करोड बजेट छुट्याइएको यस आयोजनाले पुससम्म ३ अर्ब १९ करोड रुपैयाँ बजेट खर्च गरेको छ ।
यसैगरी, उत्तर दक्षिण राजमार्ग (कोशी, कालीगण्डकी र कर्णाली करिडोर)को आधा बजेट खर्च भएको छ । चालु आवमा यी सडकलाई ३ अर्ब ६१ करोड बजेट छुट्याइएकोमा १ अर्ब ७५ करोड बजेट खर्च भएको छ । यो कुल बजेटको ४८.४७ प्रतिशत हो ।