सिरहा । सरकारको रूपान्तरकारी गौरवको आयोजना अन्तर्गत कञ्चनपुर–कमला सडकखण्ड विस्तार तथा स्तरोन्नतिको काम ४ वर्षमा ५३.४ प्रतिशत निर्माण प्रगति सम्पन्न भएको छ । सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८६.८३ किलोमिटर पूर्वपश्चिम लोकमार्गको यस सडक विस्तार तथा स्तरोन्नतिका लागि दुईपटक म्याद थपिसकिएको छ ।
सडक निर्माणको कार्यको थालनी सन् २०२० अक्टोबर २९ देखि सुरू भई २०२३ अक्टोबर २८ सम्म सक्नुपर्ने भए पनि समयमा काम सम्पन्न नभएपछि पहिलोपटक म्याद थप गरी २०२४ डिसेम्बर २८ सम्म र्पुयाइएको थियो ।
तर, यस थपिएको समयमा पनि आधामात्र काम सम्पन्न भयो । त्यसपछि अन्तिम पटकलाई भन्दै अहिले पुनः २०२५ डिसेम्बर ३१ सम्म एक वर्षको म्याद थप गरिएको सडक विभागअन्तर्गत कञ्चनपुर–कमला सडक योजना पश्चिम खण्डका प्राविधिक शाखा इन्जिनियर सरोज कोइरालाले जानकारी दिए ।
दुई खण्डमा निर्माण भइरहेको यस आयोजनाको लागत रू. १५ अर्ब ६६ करोड ४४ हजार ९८३ (भ्याट र पिससमेत) रहेको छ । यो आयोजनामा ८६.८३ किलोमिरट सडक कालोपत्र गर्ने, २२९ वटा कल्भर्ट र ५४ वटा मुख्य पुल निर्माण गर्नुपर्ने सम्झौता रहेको छ । सहरी क्षेत्रमा ६ लेनको सडक विस्तारको काम भइरहेको छ भने अन्यन्त्र ४ लेनको सडक निर्माण भइरहेको छ ।
चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे-२ इन्जिनियरिङ ग्रुप’ ले ठेक्का पाएको यस आयोजना अन्तर्गत हालसम्म पश्चिम (सिरहा) खण्ड बलानबाट कमलासम्म ४७ किलोमिटर सडक निर्माणकोे लागत रू. ८ अर्ब ३८ करोड ९९ लाख ६८ हजार ७४८ रहेको छ ।
पश्चिम खण्ड प्राविधिक शाखाका इन्जिनियर कोइरालाका अनुसार यस खण्डमा २५ वटा पुल र एक सय १५ वटा कल्भर्ट निर्माण गर्नुपर्नेमा हालसम्म १७ वटा पुलको ढलान सम्पन्न भएको छ भने ८ वटा पुलको ढलान सम्पन्न हुन बाँकी छ ।
‘सम्झौता भएको तीन वर्ष र थप १४ महिना गरी चार वर्ष दुई महिनामा ५५.३९ प्रतिशतमात्र भौतिक प्रगति भएको छ,’ इन्जिनियर कोइरालाले भने, ‘जसअन्तर्गत सडकको दायाँतर्फ २४ किलोमिटर र बायाँतर्फ २१ किलोमिटर कालोपत्र बिछ्याउने काम सम्पन्न भएको छ । त्यस्तै दुईवटा फ्लाइओभरको काम हुन बाँकी रहेको छभने दुईवटा अण्डर पासको काम सुरू गरिएको छ ।’
समयसीमामा लक्ष्यअनुसारको भौतिक प्रगति नहुनुमा काम सुरू गरेको सुरूको अवस्थामा कोरोनाले प्रभावित बनाएको र बीचबीचमा निर्माणमा अवरोध तथा विद्युत्का पोलको स्थानान्तरण नगरिनु रहेका उनले बताए ।
त्यसैगरी, एउटै निर्माण कम्पनी र समयसीमा रहेको पूर्वी खण्ड (सप्तरी) कञ्चनपुरबाट कुशहवासम्मको ३९ किलोमिटर पूर्वी खण्डका लागि रू. ७ अर्ब २७ करोडमा ठेक्का लागेको यस खण्डमा पश्चिम खण्ड (सिरहा)को जति पनि भौतिक प्रगति नभएको यस खण्डका प्राविधिक शाखाका इन्जिनियर राजीव झाले जानकारी दिए । उनका अनुसार यस खण्डको भौतिक प्रगति ५१.४२ प्रतिशतमात्र भएको छ ।
सडक पूर्वाधार आयोजनाको अवस्था सुस्त हुँदा कञ्चनपुर–कमलावासीले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्दै आएका छन् । थपिएको एक वर्षको अवधिमा पनि निर्माण सम्पन्न हुन्छ भन्नेमा आश्वस्त छैनन् नागरिकहरू । निर्धारित समयमा पूर्वाधार निर्माण हुन नसक्दा देशको अर्थतन्त्रमा समेत गम्भीर असर पर्ने गरेको विज्ञहरू बताउँछन् ।