कटारी (उदयपुर) । वन तथा वातावरण मन्त्रालयले सिद्धिचरण राजमार्ग अन्तर्गत पर्ने सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी–घुर्मी सडकखण्ड स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआइए) स्वीकृत गरेको छ ।
सडक विभागले उक्त प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको थियो । मंगलबार वन तथा वातावरण मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रतिवेदन स्वीकृत भएको पत्र पठाएको प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझीले जानकारी दिए ।
सोमबारको मन्त्रिस्तरीय निर्णयबाट प्रतिवेदन स्वीकृत गरी मन्त्रालयका वातावरण प्रभाव अध्ययन शाखाका वन अधिकृत लोकनाथ घिमिरेले सडक विभाग र वातावरण विभागलाई प्रतिवेदन स्वीकृत भएको पत्र पठाएको संसद् रायमाझीले बताए ।
प्रतिवेदन अनुसार निर्माण सुरु गरेको ३० महिनामा काम सम्पन्न गर्ने योजनासहित आयोजनाको कुल लागत ९ अर्ब ४७ करोड रुपैयाँ अनुमान गरिएको छ ।
उक्त सडक स्तरोन्नति भएमा सिरहाको मिर्चैया नगरपालिका र उदयपुरको कटारी नगरपालिकावासी प्रत्यक्ष लाभान्वित हुनेछन् । पहाडी जिल्लाहरु ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङ लगायतलाई मधेससँग प्रत्यक्ष आवतजावत गर्न सहज हुनेछ ।
दशकौँदेखिको स्तरोन्नति हुन नसकेको यस सडकखण्ड स्तरोन्नति गर्ने बाटो खुलेको कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए । ‘यो सडक स्तरोन्नतिका लागि हामी सबै डेलिगेसन गएका छौँ, प्रतिवेदन स्वीकृत भएपछि बजेट कार्यान्वयनको बाटो खुल्छ,’ उनले भने ।
यस सडकखण्डको लम्बाइ ७२ किलोमिटर रहेको छ । उक्त सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा केन्द्र सरकारले १ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ । प्रतिवेदनअनुसार यस सडकलाई सहरी इलाकामा १३ मिटर चौडाइ, ग्रामीण भेग (पहाड) मा ८.५ मिटर र तराईमा १० मिटर फराकिलो हुने योजना छ ।