६६०० रुपैयाँ पुगेको उपकार लघुवित्तको सेयर किन्नु कति फाइदा ? यस्तो छ वित्तीय अवस्था

काठमाडौं । पछिल्लो २ महनिा यता आत्मर्निर लघुवित्त वित्तीय संस्थाको सेयर ‘हटकेक’ बनेको छ । यस अवधिमा नेप्सेले खासै गति लिन नसके पनि उपकारको सेयर मूल्य भने दोब्बरभन्दा धेरैले बढिसकेको छ ।

गत मंसिर २४ गते प्रतिकित्ता ३०६० रुपैयाँ रहेको लघुवित्तको सेयर मूल्य बुधबार ६६०० रुपैयाँ पुगेको छ । २ महिनाको अवधिमै उपकारको सेयर मूल्य ११५.६८ प्रतिशत अर्थात् प्रतिकित्ता ३५४० रुपैयाँले बढेको छ । उपकार नेप्सेमा सूचीकृत ५० लघुवित्तमध्ये सबैभन्दा महँगो सेयर मूल्य हुने लघुवित्त समेत बनेको छ ।

गत वर्षको तुलनामा यस वर्ष लघुवित्तको ब्यालेन्स सिटमा सुधार आएको छ । तर, अस्वभाविक मूल्य बढ्नुपर्ने गरी ग्रोथ भने गरेको छैन ।

यसरी सेयर मूल्यमा उछाल आउनुमा स्वार्थ समूहहरूले चलखेल रहेको आँकलन गरिएको छ । व्यावसायिक रुपमा उपकारभन्दा बलिया लघुवित्तको सेयर मूल्य निकै तल रहेको छ । तर, सेयर संख्या कम भएकै कारण उपकारको सेयरमा चलखेल गर्ने गरिएको देखिन्छ । अधिकांश दिन लघुवित्तको सेयर मूल्यमा अन्तिम समयमा पोजेटिभ सर्किट लाग्नुले चलखेल गरी मूल्य बढाइएको आशंक गरिएको हो ।

नेप्सेमा हाल ५० लघुवित्त सूचीकृत छन् । तीमध्ये केही लघुवित्तको उपकारभन्दा पनि अब्बल छन् । तर, थोरै सेयर संख्या भएका आधारमा मात्रै उपकारको एकोहोरो सेयर मूल्य बढाइएको देखिन्छ ।

लघुवित्तको साधरण सेयर ३ लाख ५१ हजार ५१८ कित्ता मात्रै छ । सेयर संख्या अति नै न्यून भएकाले स्वार्थ समूहले सजिलै चलखेल गर्न सक्छन् । यसअघि उपकार जस्तै न्यून चुक्ता पूँजी भएको आत्मनिर्भर लघुवित्तको पनि सेयर मूल्य ७२०० रुपैयाँसम्म पुर्याइएको थियो ।

उपकार लघुवित्त २०७९ जेठ १२ गते सूचीकृत भएको थियो । लघुवित्तले पहिलोपटक आव २०७८/७९ को मुनाफाबाट ६५ प्रतिशत लाभांश दिएको थियो । त्यसयता लगातार दुई आवमा लाभांश दिएको छ । आगामी वर्ष पनि बम्पर लाभांश दिनसक्ने क्षमता छैन । यस्तोमा लहडको भरमा महँगोमा यस लघुवित्तको सेयर किन्नु जोखिमपूर्ण देखिन्छ ।

कस्तो छ लघुवित्तको वित्तीय अवस्था ?

लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफामा उल्लेख्य सुधार आएको छ ।

लघुवित्तले चालु आवको पुस मसान्तसम्ममा १ करोड ६८ लाख रुपैयाँ कमाएको छ । जबकि, गत वर्ष सोही अवधिमा लघुवित्त १ करोड ७५ लाख रुपैयाँ घाटामा थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र संचालनमा नाफा बढ्ना नाफामा उल्लेख्य सुधार आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४२.३२ प्रतिशतले बढेर ७ करोड ५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, गत वर्ष पुससम्म १ करोड ९० लाख रुपैयाँ संचालन घाटामा रहेको लघुवित्त यस वर्ष १ करोड १८ लाख रुपैयाँ संचालन नाफामा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तले १ अर्ब २९ करोड रुपैयाँ निक्षेप र ८९ करोड २९ लाख रुपैयाँ सापटी लिई कुल २ अर्ब ३३ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

हाल १० करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ एण्ड सरप्लसमा ११ करोड २६ लाख रुपैयाँ संचित छ ।

नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २५.१९ रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको खराब कर्जा भने झण्डै दोब्बरले बढेको छ । गत वर्ष पुससम्म २.८२ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा बढेर ४.१२ प्रतिशत पुगेको छ । सम्भावित नोक्सानी व्यवस्थापनका लागि लघुवित्तले १ करोड ४३ लाख रुपैयाँ प्रोभिजन गरेको छ ।

समीक्षा अवधिमा उपकारको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ छ ।

 

८२ मेगावाटको तल्लो सोलु हाइड्रो निर्माण अन्तिम चरणमा Read Previous

८२ मेगावाटको तल्लो सोलु हाइड्रो निर्माण अन्तिम चरणमा

आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा Read Next

आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा