नागढुंगा-नौबिसे सुरुङमार्गको ८५ प्रतिशत काम सकियो, ११ पूर्वाधार निर्माण सम्पन्न

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणको समग्रमा ८५ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाले बुधबार सार्वजनिक गरेको पछिल्लो प्रगति विवरण अनुसार सुरुङमार्गको समग्र भौतिक प्रगति ८४.९६ प्रतिशत पुगेको हो ।

आयोजनाको अझै १५.०४ प्रतिशत काम बाँकी छ । आयोजनाको वित्तीय प्रगति ७६.६८ प्रतिशत पुगेको छ ।

आयोजना अन्तर्गत सुरुङ खन्ने काम सकिए पनि फिनसिङ, लाइट जडान, अक्सिजन जडान, सडक कालोपत्र लगायतको काम बाँकी छ ।

आयोजनाको २ हजार ६८८ मिटर लामो मुख्य सुरुङ २०८१ वैशाख ३ गते र २५५७ मिटर लामो आपतकालीन सुरुङ गत २०८० साउन २२ गते ब्रेक थ्रु गरिएको थियो । आयोजना निर्देशक ज्ञानेन्द्रकुमार झाका अनुसार मुख्य सुरुङ, आपतकालीन सुरुङ, वर्किङ अडिट, क्रस प्यासेज कंक्रिट लाइनिङको काम पनि सम्पन्न भइसकेको छ ।

उनका अनुसार सुरुङमार्ग अन्तर्गत निर्माण गर्नुपर्ने संरचनामध्ये अब फ्लाइओभर मात्रै बनाउन बाँकी छ । हालसम्म फ्लाइओभरको सबस्ट्रक्चर निर्माण, स्टील ग्रिडर राख्ने, स्ल्याब राख्ने काम पनि पूरा भइसेको छ । फ्लाइ ओभरको अन्तिम चरणका केही काम मात्रै बाँकी रहेको छ । यस्तै, फ्लाइओभर निर्माणका लागि आवश्यक जग्गामध्ये ९५ प्रतिशत अधिग्रहण गरिसकिएको आयोजनाले जनाएको छ ।

आयोजना अन्तर्गत निर्माण गर्नुपर्ने १२ वटा संरचनामध्ये ११ वटा संरचनाको निर्माण पूरा भइसकेको छ । आयोजना अन्तर्गत ३ वटा अण्डर पास, ४ वटा कल्भर्ट, ३ वटा पुल र एउटा ओभरपास निर्माण सम्पन्न भइसकेको छ । बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २.३०७ किमी दुई लेन सडक कालोपत्र भइसकेको छ ।

सुरुङमार्गमा गाडी गुड्न भने अझै ९/१० महिना लाग्ने आयोजनाले बताएको छ । सुरुङमार्ग संचालनको मोडालिटी टुंगो लाग्न पनि बाँकी रहेको छ ।

यो सुरुङमार्ग निर्माणको ठेक्का जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले पाएको छ । २२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा साढे १६ अर्ब रुपैयाँ जापान सरकारले ऋण सहयोग गरेको छ । बाँकी ६ अर्ब रुपैयाँ नेपाल सरकारले लगानी गरेको छ ।

सवारीसाधन गुड्ने यो नेपालकै पहिलो सुरुङमार्ग हो । सुरुङ सञ्चालनमा आएपछि काठमाडौंको थानकोटबाट ३ मिनेटमै धादिङको सिस्नेखोला पुगिने छ । आयोजना अन्तर्गत एउटा मुख्य र अर्को आपतकालीन सुरुङ रहेका छन् । मुख्य सुरुङमा केही भवितव्य परिहालेमा आपतकालीन सुरुङबाट उद्धार गर्न सकिन्छ । आपतकालीन र मुख्य सुरुङ जोड्न ७ वटा क्रस प्यासेज निर्माण गरिएको छ ।

४२ महिनामा निर्माण सक्नेगरी २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको थियो । तर, पटक पटक म्याद थप्दा पनि अझै सम्पन्न हुन सकेको छैन ।

नेप्सेमा झिनो गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा झिनो गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रदेखि तलसम्मै समन्वयमा जोड Read Next

राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रदेखि तलसम्मै समन्वयमा जोड