बगरमा परिणत भएको च्यासल खेल मैदान मर्मत गर्न २ करोड लाग्ने

काठमाडौं । ललितपुर महानगरपालिका-९ च्यासलस्थित मनोहरा खोला किनारमास्थित च्यासल खेल मैदान गत असोजमा आएको बाढीले बगरमा परिणत भएको छ । खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मतसम्भारका निम्ति तत्काल २ करोड रुपैयाँ आवश्यक हुने बताएका छन् ।

च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन रू. २ करोड बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इञ्जिनीयर पूर्ण सुनदासले बताए । उनले भने, ‘बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेका छौँ ।’

च्यासल फुटबल क्लबका अध्यक्ष रमेश बेञ्जनकार ललितपुर महानगरपालिका-९  वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बताउँछन् । मैदान मर्मतमा अखिल नेपाल फुटबल सङ्घलगायत सरकोकार भएकाहरू मौन रहेकामा उनी दुःखी छन् । खेलकुद परिषद्सँग रू. १० लाख माग गरेका  तर हालसम्म निर्णय नभएको उनको कथन छ ।

ललितपुर महानगरपालिका-९ का वडाध्यक्ष राजु महर्जन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गरिनुपर्नेमा जोड दिए । दशरथ रङ्गशालाको विकल्पका रुपमा परिषद्ले  रू. २८ करोड खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको हो ।

क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको सेयर किन्न विद्युत् प्राधिकरणले पायो स्वीकृति Read Previous

क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको सेयर किन्न विद्युत् प्राधिकरणले पायो स्वीकृति

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा ९०% काम पूरा, १२२ किमी कालोपत्र Read Next

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा ९०% काम पूरा, १२२ किमी कालोपत्र