गण्डकीमा ४ अर्बभन्दा बढीको सुन्तला उत्पादन

गण्डकी । गण्डकी प्रदेशमा यस वर्ष ४ अर्ब १७ करोड २७ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक आँकडाअनुसार ६६ हजार ५७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । प्रदेशका ९ जिल्लामा ५ हजार ७०३ हेक्टरमा सुन्तला उत्पादन भएको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले जानकारी दिए ।

‘किसानले पाउने प्रतिकिलो सुन्तलाको औसत मूल्यका आधारमा यो वर्ष ४ अर्बभन्दा बढीको सुन्तला उत्पादन भएको छ,’ उनले भने, ‘सबैभन्दा बढी स्याङ्जामा रू.१ अर्ब ७१ करोड ६३ लाख ९० हजार बराबरको सुन्तला फलेको छ ।’

कृषि अर्थ विज्ञ पौडेलका अनुसार तनहुँमा रू.६४ करोड २० लाख, गोरखामा रू.४० करोड २० पर्वतमा रू.३८ करोड ३६ लाख, म्याग्दीमा रू.३४ करोड २१ लाख, बागलुङमा रू.२६ करोड ४६ लाख, कास्कीमा रू.२५ करोड ९६ लाख, नवलपुरमा रू.१३ करोड ३९ लाख र लमजुङमा रू.३ करोड बराबरको सुन्तला उत्पादन भएको हो ।

यस वर्ष स्याङ्जामा १९५० हेक्टर, तनहुँमा ९६८ हेक्टर, गोरखामा ७४६ हेक्टर, पर्वतमा ४६५ हेक्टर, म्याग्दीमा ४२५ हेक्टर, बागलुङमा ३७७ हेक्टर, कास्कीमा ५४१ हेक्टर, १६१ हेक्टर र लमजुङमा ८० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको हो ।  यस वर्ष ११ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको निर्देशनालयले जनाएको छ । दुई वर्षअघि ५० हजार ८५० मेट्रिक टन सुन्तला उत्पादन भएकामा यो वर्ष बढेर ६६ हजार ५७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।

बर्सेनि सुन्तलाखेतीको क्षेत्रफल विस्तार पनि भइहेको छ । देशमै सबैभन्दा धेरै सुन्तलाखेती हुने स्याङ्जाले बर्सेनि उत्पादनको ठूलो हिस्सा ओगट्छ । गण्डकीमा मुस्ताङ र मनाङ जिल्लामा भने सुन्तलाखेती हुँदैन । किसानले पाउने प्रतिकिलो सुन्तलाको औसत मूल्य रू.६७ का आधारमा उत्पादनको कुल मूल्य निर्धारण गरिएको कृषि अर्थ विज्ञ पौडेलले जानकारी दिए । सुरूमा केही कम मूल्य परेपनि पछिसम्म बोट र चिस्यान केन्द्रमा राखेर बेच्ने किसानले सुन्तलाको भाउ बढाउँदै लैजान्छन् ।

जिल्लागत रुपमा पनि सुन्तलाको औसत मूल्य फरक–फरक रहेको छ । किसानको बगैँचाबाट बजारमा आएपछि पाउने बिक्री मूल्यको त लेखाजोखा नै नहुने निर्देशनालयले जनाएको छ । जिल्लाहरूले पठाएको प्रतिवेदन र आँकडा विश्लेषण गरेर प्रदेशभरिको उत्पादन सार्वजनिक गर्ने गरिएको हो । नयाँ बोटले फल दिन थाल्नु, उत्पादन क्षेत्र विस्तार, बगैँचाको सही व्यवस्थापन जस्ता कारणले सुन्तला उत्पादनमा बर्सेनि वृद्धि हुँदै आएको निर्देशनालयले जनाएको छ ।

मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा गरी कुल ८ हजार ५१६ हेक्टरमा सुन्तलाखेतीले ओगटेको छ । रोगकिराको प्रकोप, कलमी बिरुवाको अभाव, बगैँचा व्यवस्थापन, सुन्तला टिप्नेदेखि, सुरक्षित भण्डारण र ढुवानी, बजारको अभाव जस्ता समस्या सुन्तला किसानले बेहोर्दै आएका छन् । बोट सुकेर मर्ने रोग, औँशे किरालगायतले पनि सुन्तलाखेतीमा क्षति पुर्याउने गरेको छ ।

सुन्तलाखेती विस्तार र व्यवसायीकरणका लागि सुन्तला ‘सुपर जोन’, ‘जोन’, ‘पकेट’ र ‘ब्लक’ कार्यक्रम सञ्चालित छन् । बागलुङ, पर्वत र म्याग्दीका केही स्थानीय तहलाई समेटेर सुन्तला ‘जोन’ बनाइएको छ । ‘सुन्तला जोन’मा बागलुङको बिहुँ, सिगाना, पर्वतको बाँसखर्क, सालिजा, लेखफाँट, म्याग्दीको बास्कुनालगायतका गाउँ पर्छन् । स्याङ्जामा सुन्तला ‘सुपरजोन’ कार्यक्रम लागू भइरहेको छ । सुरूमा केही स्थानीय तहका सीमित वडामा मात्र सञ्चालन गरिएको उक्त कार्यक्रमलाई पछि जिल्लाभर विस्तार गरिएको हो ।

स्याङ्जाका करेनडाँडा, जैसीडाँडा, राङ्खोला, अर्जुनचौपारीलगायत गाउँ सुन्तलाखेतीका लागि बढी चिनिन्छन् । तनहुँको म्याग्दे गाउँपालिका, गोरखाको सहिद लखन गाउँपालिकामा पनि सुन्तला उत्पादन राम्रो हुन्छ । यहाँ उत्पादित सुन्तला पोखरालगायत प्रदेशभित्रैका सहरी क्षेत्रमा बढी खपत हुन्छ । व्यापारीले नारायणगढ, काठमाडौँलगायत ठाउँमा पनि बिक्रीका लागि पुर्याउँछन् । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका अगुवा सुन्तला किसान मेखबहादुर खत्रीका अनुसार यो वर्ष बाँसखर्कमा मात्र रू. १८ करोड ४४ लाख ४७ हजारको सुन्तला उत्पादन भयो ।

त्यहाँ १०५ रोपनी जमिनमा सुन्तलाखेती गरिएकामा फल दिने बोट २६ हजार ७०६ र हुर्कदैँ गरेका बोटको सङ्ख्या २४ हजार ४४५ रहेको उनले बताए । कुल ५१ हजार १५१ बोट रहेकामा सबै बोटले फल दिँदा केही वर्षमा उत्पादन दोब्बर बढेर झण्डै रू.४० करोड हाराहारी पुग्ने अनुमान गरिएको छ । अगुवा कृषक जतबहादुर खत्रीको बगानमा वर्षमा रू.३५ लाख बराबरको सुन्तला फल्ने गरेको छ । उनले २५ रोपनी जमिनमा सुन्तलाखेती गर्दै आएका छन् ।

अगुवा किसान शान्तबहादुर छिन्तेलले वार्षिक रू.२३ लाख र हेमबहादुर अर्मजाले रू.१९ लाख बराबरको सुन्तला उत्पादन गर्दै अएका छन् । तेजबहादुर खत्री र नरबहादुर पाइजाले सुन्तलाको नर्सरी सञ्चालन गर्दै आएका छन्।

‘व्यवासायिक सुन्तलाखेतीले बाँसखर्कका किसानको जीवनस्तर नै बदलिएको छ, सुन्तला बेचेर वर्षको ५ लाखदेखि रू.४० लाखसम्म कमाउने किसान यहाँ हुनुहुन्छ’ अगुवा किसान मेखबहादुर खत्रीले भने । बाँसखर्कको सुन्तला पोखरा, मुग्लिन, नारायणगण, काठमाडौँलगायत ठाउँमा जाने गरेको उनको भनाइ छ ।

उनका अनुसार जलजला–१ को मालगाउँ र घुमाउने तालको केही ठाउँबाहेक बाँसखर्कको अधिकांश क्षेत्रमा सुन्तलाखेती हुँदै आएको छ । विसं १९९७/९८ तिर बाँसखर्कको बजारमारे र वीरमारेमा केही सुन्तलाका बोट देखिएको र त्यसपछि समयक्रममा सुन्तलाखेती विस्तार हुँदै आएको उनले बताए । विसं २०२८ मा कृषि विकास बैङ्कले सुन्तलाखेती गर्ने किसानलाई ऋण दिन थालेपछि बाँसखर्कमा सुन्तलाखेती सुरू भएको गाउँका अगुवा किसान बताउँछन् ।

पोखरासम्म सडक पहुँच विस्तार भएपछि विसं २०५२/५३ देखि बाँसखर्कका किसानले व्यावसायिक रुपमा सुन्तलाखेती सुरू गरेका हुन् । २३९ घुरधुरी रहेको बाँसखर्कका अधिकांश किसान सुन्तलाखेतीमा आबद्ध छन् । किसानले सुन्तलाखेतीको विकल्प देख्न छाडिसकेका छन् ।

गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठले सुन्तलाको पकेट क्षेत्र विस्तारका लागि प्रदेश सरकारले सहयोग गर्दै आएको बताए । ‘सरकारले सुन्तलाखेती गर्ने किसानलाई सीप र प्रविधि हस्तान्तरणमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने योजना ल्याएको छ,’ उनले भने । रासस

पाथीभरा केबलकार विवादले एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित Read Previous

पाथीभरा केबलकार विवादले एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित

ठेक्का तोड्ने चेतावनीपछि नारायणघाट-बुटवल सडक निर्माणमा तीव्रता, १८ स्थानमा कालोपत्र हुँदै Read Next

ठेक्का तोड्ने चेतावनीपछि नारायणघाट-बुटवल सडक निर्माणमा तीव्रता, १८ स्थानमा कालोपत्र हुँदै