काठमाडौं । सेयर बजारमा उछाल आएको छ । गत साता जम्मा ३ अंकले बढेको नेप्सेले यस साता पहिलो दिनमै हाफ सेञ्चुरीको छलाङ हानेको हो ।
आइतबार नेप्से परिसूचक ६९.८० अंकले बढेर २७२७.५८ बिन्दुमा पुगेको छ । सूचकसँगै आज कारोबार रकममा पनि उछाल आएको छ । आज १२ अर्ब ९५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यो पछिल्लो ५ महिना यताकै धेरै हो ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । माइक्रोफाइनान्स समूहको परिसूचक सर्वाधिक ४.०७ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक, उत्पादनमूलक, लगानी र निर्जीवन बीमा समूह ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ४१ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये २०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको मूल्य घटेको छ ।
बढ्दो बजारमा ९ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । उन्नति सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान, विजय लघुवित्त, भूगोल इनर्जी, ग्रामीण विकास लघुवित्त, एनएमबी माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
आज सामुदायिक लघुवित्तका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।