‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका डेरी उद्योग, देशैभरबाट ल्याउँछन् दूध

चितवन । चितवनको भरतपुर महानगरपालिका-१ ठिमुरास्थित चितवन मिल्क उद्योग छ । यहाँ आज बिहान पनि दूध बोकेका ट्यांकरको लामो लाइन लागेको थियो ।

सहकारी र निजी डेरी फार्महरूले संकलन गरेको दूध बजारमा खपत हुन नसकेपछि ती ट्यांकरहरू उद्योगमा दूध बोकेर आएका थिए । बजारमा दूध खपत नभएपछि प्रशोधन गरेर धुलो बनाउन ती ट्यांकर यहाँ आएका हुन् ।

नेपाल डेरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजकुमार दाहाल यसरी आएको दूध उक्त उद्योगले प्रशोधन नगरेको भए दूध फाल्नुको विकल्प नहुने बताउँछन् । उनले भने, ‘चितवन मिल्क नभएको भए तपाईंले आज बिहान देखेको ट्यांकरको दूध खोलामा फाल्नुको विकल्प थिएन ।’

केही वर्षअघिसम्म दूध धेरै उत्पादन हुने समयमा मिल्क होलिडे गर्ने गरिएको थियो । अध्यक्ष दाहालका अनुसार पछिल्लो आँकडाअनुसार नेपालमा दैनिक ७५ लाख लिटर दूध उत्पादन हुने गर्दछ । त्यसमध्ये आधा दूध घर र बाँकी व्यावसायिक प्रयोजनमा प्रगोग हुने गरेको छ ।

व्यावसायिक प्रयोजनमा प्रयोग हुनेमध्ये ३३ प्रतिशत दुग्ध विकास संस्थानसहित व्यावसायिक उद्योगहरूमा प्रशोधन गरेर बजारमा पठाइन्छ भने बाँकी स्थानीय डेरी पसलले प्रशोधन नगरी बजारमा पठाउने गरेका छन् ।

वैशाखदेखि असोजसम्म दूधको उत्पादन कम हुने गर्दछ । यो समयमा अरू बेलाको तुलनामा ४० प्रतिशतसम्म दूध कम हुने आँकडा छ । बढी उत्पादन भएको बेला दूधलाई प्रशोधन गरेर पाउडर र बटर बनाउने गरिन्छ ।

नेपालमा चितवन मिल्कसहित पोखराको सुजल, भक्तपुरको शिवपुरी, विराटनगरको सूर्योदय र सगरमाथासँगै बागमती प्रदेशको हेटौँडा डेरीले दूधको धुलो बनाउने गरेका छन् । क्षमताको हिसाबले चितवन मिल्कले सबैभन्दा बढी प्रशोधन गर्ने गरेको नेपाल डेरी उद्योग संघले जनाएको छ ।

मङ्सिर र पुस महिनामा दैनिक २ लाख ५० हजार लिटर दूध प्रशोधन हुने गरेकामा माघ लागेपछि सबै उद्योगले गरी दैनिक २ लाख लिटर दूध प्रशोधन हुँदै आएको छ । चितवन मिल्कले भने दैनिक ८० हजार लिटर दूध प्रशोधन गर्दै आएको छ ।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार उद्योगले एक ‘सिफ्ट’मा एक लाख लिटरसम्म दूध प्रशोधन गर्न सक्छ भने २४ घण्टा सञ्चालन गर्दा दुई लाख लिटर दूध प्रशोधन हुन्छ । उपकरणमा केही खराबी देखिएकाले अहिले एक सिफ्टमा ८० हजार लिटर मात्रै प्रशोधन गरिँदै आएको उनले जानकारी दिए । प्रबन्धक पराजुलीले भने, ‘हामीले यो बेला प्रशोधन नगर्ने हो भने किसानले मिल्क होलिडे बेहोर्नु पर्छ ।’

हाल सो उद्योगमा देशैभरबाट दूध आउने गरेको छ । १२ वटा सहकारी संस्था र करिब ५० वटा निजी डेरीले यहाँ दूध पठाउने गरेका छन् । विसं २०७५ सालदेखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गरिरहेको प्रबन्धक पराजुलीले जानकारी दिए ।

उनका अनुसार प्रतिलिटर पाउडर दूधको ११३ रुपैयाँ र घ्यू (बटर) को प्रतिकिलो ५५ रुपैयाँ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । विसं २०६४ मा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भए पनि पुनः सञ्चालनमा आएको थियो ।

ट्रम्पले लगाए क्यानाडा र मेक्सिकोलाई २५% कर, भोलिदेखि कार्यान्वयनमा आउने Read Previous

ट्रम्पले लगाए क्यानाडा र मेक्सिकोलाई २५% कर, भोलिदेखि कार्यान्वयनमा आउने

चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा 'धेरै दुर्घटना', ३२ जनाले गुमाए ज्यान Read Next

चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा 'धेरै दुर्घटना', ३२ जनाले गुमाए ज्यान