‘चार्टर्ड एकाउन्टेन्ट ठिक भए वित्तीय सुशासन आफैं सही ठाउँमा आउँछ’

काठमाडौं । नेपालमा लेखासम्बन्धी पेशा तथा शिक्षाको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) २८ औं वर्षमा प्रवेश गरेको छ ।

आइक्यानले आफ्नो वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौं र मुलुकभरी विविध कार्यक्रम आयोजना गर्यो । आइक्यानको वार्षिकोत्सव मुख्य समारोहलाई सम्बोधन गर्दै उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सही दिशामा चलायमान गराउन र वित्तीय अनुशासन कायम गर्न चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्वपूर्ण रहेको बताए ।

चार्टर्ड एकाउन्टेन्टको काँधमा वित्तीय लेखाजोखा मूल्याङ्कन गर्ने जिम्मेवारी रहेको भन्दै उनले त्यो ठीक भएको खण्डमा वित्तीय सुशासन आफैं सही ठाउँमा आउने बताए । उनले सार्वजनिक वित्त व्यवस्थापन सुधारमा महत्वपूर्ण भूमिका खेल्ने समेत सुझाव दिए । मुलुकको कर प्रणाली सुधार र राजस्व वृद्धिमा चार्टर्ड एकाउन्टेन्टहरुको महत्वपूर्ण सहकार्यको अपेक्षा सरकारले गरेको उनले बताए ।

कर र राजस्वको क्षेत्रमा आवश्यकता अनुसार काम हुन नसकेको भन्दै उनले कर प्रणालीमा धेरै सुधार चाहिएको बताए । व्यवसायीले कर छल्न नसक्ने प्रकारको कर प्रणाली स्थापित गरिनुपर्ने उनको भनाई छ ।

‘कर सुधार र राजस्व वृद्धिका कुरा गरिरहे पनि पछिल्ला कतिपय तथ्याङ्कले यस्तो नदेखाएको भन्दै अर्थमन्त्री पौडेलले भने, ‘कर प्रणालीमा सुधारको कुरा गर्छौ र तर त्यसमा चाहे अनुसार सुधार गर्न सकिरहेका छैनौं । कुनै पनि व्यवसायीले कर छल्न नसक्ने र औचित्यमा आधारित कर प्रणाली स्थापित गर्ने सन्दर्भमा हामीले अझै धेरै काम गर्न बाँकी छ ।’

पूँजीबजार दीगो, भरपर्दो र विश्वसनीय तरिकाले अगाडि बढाउन र कुनै पनि प्रकारका चिटिङ प्रवेश हुन नदिन आइक्यानले आफ्नो ठाँउबाट भूमिका खेल्न सक्ने उनको अपेक्षा छ ।

सरकारले अर्थतन्त्र सामु आएका समस्या समाधान गर्न एकसाथ २९ कानून संशोधन गर्न अध्यादेश ल्याएको बताए । उनले अर्थतन्त्रलाई चलायमान बनाउन, लगानी बढाउन, उत्पादन बढाउन, रोजगारी बढाउन र विदेशी लगानी आकर्षण गर्न सरकारले प्रयास गरिरहेको दावि गरे ।

सो अवसरमा महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डेले अर्थतन्त्र विकासमा वित्तीय प्रणाली सुधार आवश्यक हुने र यसमा चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्वपूर्ण रहेको बताए । विश्वमै चार्टर्ड एकाउन्टेन्ट एक प्रतिष्ठित व्यवसाय भएको भन्दै उनले सरकारको प्रतिनिधि र कर अधिकृतका रुपमा रहेको उनको भनाई छ ।

सो अवसरमा आइक्यानका अध्यक्ष प्रविण कुमार झाले लेखा, लेखापरीक्षण तथा कर लगायत विषयमा चार्टर्ड एकाउन्टेन्टले गहन अध्ययन र सोही क्षेत्रमा तालिम तथा व्यावसायिक अनुभव प्राप्त गर्ने हुनाले चार्टर्ड एकाउन्टेन्टलाई विज्ञको रूपमा हेरिँदै आइएको बताए । चार्टर्ड एकाउन्टेन्टले सरकारका विभिन्न निकायको लेखापरीक्षण तथा परामर्शसम्बन्धी सेवा दिँदै आएको भन्दै विभिन्न अध्ययन तथा छानबिनसम्बन्धि समितिमा रहेर समेत काम गरिरहेको उनले बताए ।

आइक्यान उपाध्यक्ष निलबहादुर सारु मगरले नेपालमा पनि ठूला ठूला काम गर्ने फर्म सञ्चालनमा सरकारले सहजीकरण गरिदिनुपर्ने बताए । कार्यक्रममा संस्थामा २० वर्षभन्दा बढी अवधि सेवा प्रदान गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो । यस्तै संस्थामा उत्कृष्ट सेवा प्रदान गर्ने कर्मचारीहरुलाई पनि नगद पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । वर्षिकोत्सवकै अवसरमा आयोजित अतिरिक्त क्रियाकलापमा भाग लिने कर्मचारीहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

हकप्रद सेयर बिक्री गर्न सिटी होटलले नियुक्त गर्यो बिक्री प्रबन्धक Read Previous

हकप्रद सेयर बिक्री गर्न सिटी होटलले नियुक्त गर्यो बिक्री प्रबन्धक

पोखरामा पनि भूमिगत प्रणाली मार्फत विद्युत आपूर्ति सुरू Read Next

पोखरामा पनि भूमिगत प्रणाली मार्फत विद्युत आपूर्ति सुरू