बागमती । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को ६ महिनाका अवधिमा २९ करोड १ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
नयाँ सवारी दर्ता, नविकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुस महिनासम्ममा सो कार्यालयले २९ करोड १ लाख ७५ हजार ६५१ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए ।
कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आवको छ महिनामा सवारी चालक अनुमतिपत्र बितरणबाट १७ करोड ३८ लाख २१ हजार १४९ रुपैयाँ, सवारी करबाट ४ करोड ५३ लाख ६८ हजार ३३१ रुपैयाँ, यातायात क्षेत्रको आम्दानीबाट ४ करोड ५६ लाख ७० हजार ८११ रुपैयाँ, सङ्घीयता तर्फ १ करोड ८१ लाख २५ हजार १८० रुपैयाँ तथा बेरुजुबाट ८ हजार २५० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यस्तै, चालु आव को सो अवधिमा मोटरसाइकल १ हजार २८० वटा, साना सवारी ५१३ वटा, टेम्पो/ई–रिक्सा ३३७ वटा, ठूला तथा मझौला सवारी तीन सय २१ वटा र ट्याक्टर ५ गरी २ हजार ४५८ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । यस अवधिमा नयाँ २ हजार १६३ र वर्ग थप १ हजार ३४८ गरी ३ हजार ६११ जनालाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।
यस्तै सो अवधिमा २ हजार ९८४ नवीकरण, ४९ वटा प्रतिलिपी र ३९ वटा नवीकरण र प्रतिलिपी दिइएको जनाएको छ । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शिर्षकमा ५६ करोड ७ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो भने ४ हजार ३९९ वटा सवारी साधन दत्र्ता गरेको थियो । रासस