मुग्लिन-पोखरा सडकको पश्चिम खण्डको कामले पनि गति लिँदै, २८ किमी कालोपत्र

काठमाडौं । मुग्लिन-पोखरा सडक आयोजना अन्तर्गत  पश्चिमखण्ड (पोखरा-जामुने) खण्ड निर्माणले पनि गति लिन थालेको छ ।  पूर्वीखण्डको तुलनामा सुस्त गतिमा काम भइरहेको पश्चिम खण्डको पछिल्लो समय निर्माणले गति लिन थालेको हो ।

गत वर्षसम्म करिब २० प्रतिशत काम सकिएको पश्चिम खण्डको अहिले भौतिक प्रगति ४२ प्रतिशत पुगेको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालले पछिल्लो समय सडक निर्माणले गति लिएको बताउँछन् ।

‘आयोजनाको पछिल्लो भौतिक प्रगति ४२ प्रतिशत पुगेको छ, जनवरी महिनाको प्रगति भने थप हुन बाँकी छ,’ इन्जिनियर नेपालले भने, ‘पोखराको चाउथे, अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिँहचोक, बुढीबजारलगायत ठाउँमा कालोपत्रको काम भइरहेको छ, तालचोकदेखि गगनडौँडासम्मको खण्डमा पनि निर्माणले गति लिएको छ ।’

उनका अनुसार पश्चिम खण्डको हालसम्म २८.५२ किमी सडक कालोपत्र भएको छ । नेपालका अनुसार उक्त खण्डमा अब १०.३६ किमी सडक कालोपत्र हुन बाँकी छ । ‘तनहुँमा साढे २ किमी कालोपत्र हुन बाँकी छ, कास्की खण्डमा पनि अहिले धमाधम कालोपत्र भइरहेको छ,’ उनले भने, ‘आगामी वर्षभित्र काम सक्ने लक्ष्य लिइएको छ ।’

तनहुँमा २०.८ किमी र कास्कीमा १८.८ किमी सडक कालोपत्र भइसकेको छ । चार लेन दुवैतर्फ  तनहुँमा १०.०८ र कास्कीमा ४.३९ किमी र तनहुँमा दुई लेन (एकतर्फी) ७.९८ किमी र कास्कीमा ६.०७ किमी सडक कालोपत्र भएको इन्जिनियर नेपालले जानकारी दिए । तनहुँमा २.७४ किमी र कास्कीमा ७.६२ किमी गरी कुल १०.३६ किमी सडक कालोपत्र हुन बाँकी रहेको उनले बताए ।

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले विसं २०७८ देखि उक्त खण्डको काम सुरु गरेको थियो ।

कास्की र तनहुँमा पर्ने पश्चिम खण्डको तीन वर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि  निर्माण कम्पनीले म्याद थपेर काम गरिरहेको हो । पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक ६ लेन र आधाजति ४ लेनको बन्ने इन्जिनियर नेपालले जानकारी दिए ।

वियजपुर खोला र सेती नदीमा पुल निर्माणको काम पनि सँगसँगै भइरहेको उनको भनाइ छ । ‘सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम द्रुत गत गतिमा भइरहेको छ,’ इन्जिनियर नेपालले भने, ‘निर्माण कम्पनीले एक वर्षभित्रमा निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।’ कोभिड-१९ महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको उनको भनाइ छ ।

३८.८८ किमी दूरीको पश्चिम खण्डमा पर्ने १२ वटामध्ये ९ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनलले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो ।

कुल ८१ किमी दूरीको मुग्लिन-पोखरा सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो ।

पूवीखण्डको ७५ प्रतिशत काम पूरा

मुग्लिन-पोखरा सडक पूर्वीखण्ड (आँबुखैरेनी-जामुने)को भने तीनचौथाई काम सकिसकेको छ । ४१.४५ किलोमिटर लामो यस खण्डको भौतिक प्रगति ७५ प्रतिशत पुगेको हो ।

पूर्वी खण्डमा करिब ३० किलोमिटर दूरीमा अन्तिम चरणको कालोपत्रकार्य सम्पन्न भइसेको छ । उक्त दूरीमा पहिलो चरणमा ६ सेन्टिमिटर र दोस्रो चरणमा १० सेन्टिमिटर गरी १० सेन्टिमिटर सडक कालोपत्र गरिएको छ ।

यस खण्डमा साना १४ वटा पुल निर्माणकार्य सकिएका छन् । ठूला तीन वटामध्ये डुम्रे बजार नजिकैको एउटा पुल अन्तिम चरणमा पुगेको छ, दुई वटाको निर्माणकार्य सम्पन्न भइसकेको छ । व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ५० प्रतिशत बढी पूरा भइसकेको छ ।

पूर्वी खण्डमा पर्ने तनहुँको दमौली र डुम्रे बजारमा ६ लेन र बाँकी खण्डमा ४ लेनको सडक बन्ने आयोजना कार्यालयले जनाएको छ ।

पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम सुरू भएको थियो । यो खण्ड निर्माणको जिम्मा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । निर्माण कम्पनीले ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा उक्त खण्डको ठेक्का लिएको थियो ।

यस खण्डको ठेक्का सम्झौता म्याद समाप्त भएपछि पुनः फागुन २ गतेसम्मका लागि म्याद थप गरिएको छ ।

 

 

 

बागलुङमा अलैंची उत्पादनमा वृद्धि, एकै वर्षमा ६ करोडको बिक्री Read Previous

बागलुङमा अलैंची उत्पादनमा वृद्धि, एकै वर्षमा ६ करोडको बिक्री

ओखलढुंगामा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु Read Next

ओखलढुंगामा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु