काठमाडौं । सरकारकाे अस्थिर नीतिकै कारण सेयर बजार पेनिक बनेको सरोकारवालाहरूले बताएका छन् । बुधबार स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान)को नयाँ नेतृत्वलाई सम्मान गर्न नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।
उनीहरूले पछिल्लो समय जस्तो सुकै कम्पनीलाई पनि आइपीओ जारी गर्न दिने प्रवृति रोक्नुपर्ने बताएका छन् । वर्षेनी लाभांश दिन सक्ने कम्पनीलाई मात्र आइपीओ जारी गर्न दिनुपर्ने उनीहरूको भनाइ छ ।
स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले अहिले नेपाली पूँजी बजार फण्डामेन्टल्ली भन्दा पनि हल्लाको भरमा रुमलिएको भन्दै यसलाई सुधार गर्नुपर्ने बताए ।
‘अस्थिर नीतिका कारण अहिले सेयर बजारका लगानीकर्ताहरू मारमा परेका छन्,’ उनले भने, ‘लगानीकर्ताले देशको नीति र नेतृत्व हेरेर आफ्नो लगानी गरेका हुन्छन् तसर्थ राज्यले दीर्घकालीन नीति बनाउनु पर्छ, त्यसका लागि चेम्बर जस्ता संस्थाले सरकारसँग दरोसँग लविङ गर्नुपर्छ ।’
अहिले नेपाली पूँजी बजारमा सेयर खरिदबिक्री मात्र भइरहेको भन्दै अब बजारमा नयाँ प्रविधि सहितको बण्ड मार्केट, सर्टसेल, इन्ट्रा डे कारोबार, ब्रोकरलाई मार्जिन लेण्डिङ सुविधाजस्ता नयाँ प्रोडक्ट ल्याउनुपर्ने उनको भनाइ थियो ।
हाल अर्थतन्त्रमा देखिएको सिथिलताको अन्त्य गर्न टेलिमक, नागरिक लगानी कोष, कर्मचारी संचयकोष, सामाजिक सुरक्षा कोषजस्ता संस्थाहरूलाई बैंक वित्तीय संस्थाको संस्थापक सेयर खरिदमा लगाइएको १५ प्रतिशतको क्याप हटाउनुपर्ने ढकालले बताए । बजारमा संस्थागत लगानीकर्ताको अभाव भैरहेको अहिलेको अवस्थामा बजारलाई थप चलायमान बैंक वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले दोस्रो बजारमा सेयरबिक्री लगाएको क्यापलाई समेत हटाउनुपर्ने ढकालको माग थियो ।
उनले निजी क्षेत्रहरू बीच संस्थागत सहकार्य गरेर नेपाली पूँजी बजारमा विदेशी लगानी भित्र्याउनु पर्ने बताए । उनले विभिन्न संघसंस्थाहरूबीच फुटेर नभई एक आपसमा मिलेर सगम्र पूँजी बजारको विकासमा लाग्नु पर्ने बताए ।
‘हामी सबैको उद्देश्य लगानी गरेर नाफा आर्जन गर्ने अनि सोही अनुरुप राज्यलाई कर तिर्दै देशको आर्थिक विकास गर्ने हो,’ उनले भने, ‘उद्देश्य एउटै भएपछि सबै आर्थिक र व्यवसायीका मुद्दामा सबै उद्योगी व्यवसायी र उनीहरूले नेतृत्व गर्ने संघसंगठन एक ठाउँमा उभिनुपर्छ ।’
त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले ब्रोकर एसोसिएसन र चेम्बरको सहकार्यले पूँजीबजारलाई चलायमान बनाएर समग्र लगानीकर्ताको हितमा काम गर्न सकिने बताए । ‘सेयर बजार भनेको कुनैपनि देशको अर्थतन्त्रको ऐना हो,’ उनले भने, ‘कुनै पनि विदेशी लगानीकर्ताले सम्बन्धित देशको ब्लूचीप कम्पनीको अध्ययन गरेर देशको अर्थतन्त्रको बारेमा बुझ्छन् ।’
अहिले केही कम्पनीहरू सेयर जारी गरेर सर्वसाधारण लगानीकर्ताको पैसा आफूतिर खिच्ने उद्देश्यले अघि बढेको भन्दै त्यसलाई सरकारले सुक्ष्म तरिकारले नियमन गर्नुपर्ने अग्रवालको भनाइ छ ।
चेम्बरका वरिष्ठ उपाध्यक्षे दीपक मलहोत्राले अहिले नेपालको पूँजीबजार नेपाली जनतामाझ लोकप्रिय भएको भन्दै अवका दिनमा हरेक वर्ष लाभाश दिने कम्पनीको मात्र आइपीओ जारी गर्नुपर्ने बताए ।
अहिले कतिपय कम्पनीहरूले ब्यालेन्ससीटलाई म्यानुपुलेशन गरे घाटामा रहेका कम्पनीको पनि आइपीओ जारी गर्ने क्रम बढेकाले त्यसलाई रोक्नुपर्ने बताए ।
‘पूँजी बजारमा लगानी गरेपछि कुनै पनि लगानीकर्ताले बार्षिक १० प्रतिशत प्रतिफल पाउने ग्यारेटी हुनुपर्छ र त्यस्ता कम्पनीलाई मात्र आइपीओ ल्याउन स्वीकृति दिनुपर्छ,’ उनले भने, अहिले जस्ता पनि कम्पनीको आइपीओ जारी गरेर बजारबाट पैसा उठाउने काम भएको छ त्यसालाई रोक्नुपर्छ ।’