काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक तथा सांसद निशा डाँगीले डिजिटल भुक्तानी निःशुल्क गर्न माग गरेकी छिन् ।
मंगलबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर डिजिटल प्रणालीको सशक्तीकरण तथा निःशुल्क सहजीकरणका लागि ध्यानाकर्षण पत्र बुझाएकी हुन्।
‘नेपाल राष्ट्र बैंकको भुक्तानी सेवा प्रदायकले जारी गरेको एकीकृत निर्देशनअनुसार सेवा प्रयोगकर्ताहरूबाट हरेक लेनदेनमा १० रुपैयाँ सेवा शुल्क लिने गरेकोमा, सो शुल्कमा सरकारले लगाएको १३ प्रतिशत भ्याट अतिरिक्त भारको रुपमा थपिँदा वित्तीय पहुँचको विस्तारमा नकारात्मक असर गरेको छ,’ डाँगीले बुझाएको पत्रमा भनिएको छ।
यसले डिजिटल भुक्तानी सेवा प्रदायकहरूको लागि थप चुनौतीहरू सिर्जना गरेको डाँगीको दाबी छ।
सरकारले चालु आवको बजेटमार्फत डिजिटल भुक्तानीमा १३ प्रतिशत भ्याट लगाएको थियो । त्यसपछि फोनपेले इन्टरबैंक फण्ड ट्रान्सफरको शुल्क बढाएर १० रुपैयाँबाट ११.३० रुपैयाँ र एनसीएचएलले ८ रुपैयाँबाट ९.०४ रुपैयाँ पुर्याएको थियो ।