काठमाडौं । जोगवनी नाकादेखि संखुवासभाको किमाथांका हुँदै चीन जोड्ने कोशी राजमार्ग अन्तर्गतको संखुवासभाको खाँदबारीदेखि किमाथांकासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको छ ।
संखुवासभा सदरमुकाम खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथांकासम्म पर्ने १५८ किलोमिटर सडकको ट्रयाक खन्ने काम सम्पन्न भएसँगै उक्त सडकको आज ‘ब्रेक थ्रु’ गरिएको हो ।
खाँदबारी-किमाथांका सडक अन्तर्गत च्याम्ताङ्गदेखि घोङघोप्पासम्मको साढे १० किलोमिटर सडकको चट्टानसहितको भीर नेपाली सेनाले फुटाएर ट्रयाक खुलाएसँगै आज संघीय सरकारका तीन मन्त्रीको उपस्थितिमा उक्त सडकको ‘ब्रेक थ्रु’ गरिएको हो ।
उक्त सडकको भोटखोला गाउँपालिका–१ च्याम्ताङमा संखुुवासभाका प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिएको हो ।
उक्त सडकको ‘ब्रेक थ्रु’ सँगै भारतदेखि चीनसम्मको कोशी राजमार्गको ट्रयाक खोल्ने कार्यसँगै सडक स्तरोन्नति र चौडा बनाउने काम हुनेछ ।
मन्त्री खड्काले खाँदबारी–किमाथांका सडक जोडिएसँगै त्रिदेशीय पारवहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले त्रिदेशीय नाका जोड्ने उक्त सडक सञ्चालनमा आएपछि नेपाल–भारत र चीनका साथै बंगलादेशले फाइदा लिनसक्ने उल्लेख गरे । सडक स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्न मन्त्री खड्काले भौतिक पूर्वाधार मन्त्रालयलाई आग्रह गरेका थिए ।

किमाथांका क्षेत्र हुँदै अरुण नदीको बहाव रहेकाले उक्त क्षेत्रमा अन्य जलविद्युत् आयोजना निर्माण गर्न सकिने मन्त्री खड्काको भनाइ थियो । ‘यो सडकको पहुँचमार्फत जलविद्युत् विकासमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने हुँदा यो शीघ्र सञ्चालन गर्न आवश्यक छ,’ उनले भने ।
कार्यक्रममा रक्षामन्त्री राईले नेपाली सेनाद्वारा निर्माण भइरहेको उक्त सडक मुलुकको विकासमा महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको बताए । उनले समयअगावै सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएकामा नेपाली सेनालाई धन्यवाद दिए । मन्त्री राईले पूर्वको किमाथांका नाका, पश्चिमको हिल्सा नाका र केरुङ नाकालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । बाँकी रहेको काम चाँडो सम्पन्न गर्ने गरी काम गर्न मन्त्री राईले सेनालाई निर्देशन दिए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले उक्त सडकखण्डको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट अभाव हुन नदिने बताए । उनले उक्त सडकखण्डमा पर्ने पुल निर्माणका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने उल्लेख गरे ।
भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले उक्त सडक निर्माणले भोटखोलाको आर्थिक विकासमा सहयोग पुग्ने बताए । सडक ब्रेक थ्रुसँगै भोटखोला, संखुुवासभा र सिङ्गो मुलुकका लागि सुनौलो दिनको सुरुआत भएको छ,’ उनले भने । कार्यक्रममा नेपाली सेनाले आफूले गरेको कामको प्रगतिबारे जानकारी गराएको थियो । सेनाले सडक निर्माणका लागि बजेट अपुग रहेकाले बजेट सुनिश्चित गरे सडक चौडाइको काम चाँडो सम्पन्न गर्न सकिने जनाएको छ ।