काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।
अमेरिकामा रहेका अवैध कोलम्बियन आप्रवासीहरूलाई लिएर गएको अमेरिकी सैन्य जहाजलाई कोलम्बियाले अवतरण गर्न रोक लगाएपछि ट्रम्पले त्यसको जबाफमा कोलम्बियाबाट आयात हुने वस्तुमा कर लगाउने घोषणा गरेका हुन् ।
अमेरिकामा अवैध रूपमा रहेका कोलम्बियाका आप्रवासीहरूलाई फिर्ता लिन त्यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोले अस्वीकार गरेका थिए । ट्रम्पले एक सातभित्र करको दर अझै बढाएर ५० प्रतिशत पुर्याउने घोषणा पनि गरेका छन्।
जबाफमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले पनि अमेरिकाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउन त्यहाँको वाणिज्य मन्त्रालयलाई निर्देशन दिएका छन्।
‘कोलम्बियाले पनि आयातमा त्यही नीति लिएको छ, जुन तपाईले लिनुभएको छ,’ ट्रम्पलाई सम्बोधन गर्दै कोलम्बियाका राष्ट्रपति गुस्ताभोले एक्समा लेखेका छन्।
जबाफमा ट्रम्पले कोलम्बिया विरुद्ध बैंकिङ र वित्तीय प्रतिबन्धहरू लगाउने तथा कोलम्बियाका सरकारी अधिकारीको भिसा रद्द गर्ने र आफ्ना नागरिकहरूलाई कोलम्बियामा यात्रा प्रतिबन्ध लागू गर्ने भनेका छन् ।