काठमाडौं । नेपाली काँग्रेस, उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागले आगामी माघ १६ र १७ गते नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको छ ।
विभागले साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण तथा उद्यमशीलता विकास गर्ने र स्टार्ट अप व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त सम्मेलन गर्न लागेको हो ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रम आयोजना गर्दै विभाले माघ १६ र १७ गते नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने जानकारी दिएको हो।
विभागकी प्रमुख उर्मिला थपलियाले युवाहरूलाई उमशिलतामा प्रोत्साहन गर्न सम्मेलन महत्वपूर्ण हुने बताइन्। उनले सम्मेलनमा सबैभन्दा युवाहरूलाई बढी जोडिने उनले जानकारी दिइन्।
‘नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रुपान्तरण, स्टार्टअपमा लगानीका अवसर र चुनौतीको विश्लेषण गर्न तथा महिलाहरू र युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्न नीति सुधारको पैरवी गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको हो,’ उनले भनिन् ।
सानेपास्थित पार्टी कार्यालयमा हुने सम्मेलनमा ८० वटाभन्दा बढी स्टल रहने छन् । सम्मेलनमा पार्टीका नेता, सांसद, युवा उद्यमीहरू, नीति निर्माता, उद्योगपति, लगानीकर्ता तथा प्राविधिकहरू तथा विज्ञहरूको सहभागिता रहने छ ।