काठमाडौं । भारतको निजी क्षेत्रको सबैभन्दा ठूलो ‘एचडीएफसी बैंक’ले झण्डै पौने २ खर्ब रुपैयाँ खुद नाफा कमाएको छ ।
हालै सार्वजनिक भएको वित्तीय विवरण अनुसार बैंकले आर्थिक वर्ष २०२४/२५ को तेस्रो त्रैमास (डिसेम्बर २०२४)सम्म १ खर्ब ६७ अर्ब ३५ करोड भारतीय रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत वर्षको सोही अवधिको तुलनामा २.२ प्रतिशतले धेरै हो । गत वर्षको तेस्रो त्रैमाससम्म बैंकले १ खर्ब ६३ अर्ब ७२ करोड भारतीय रुपैयाँ नाफा आर्जन गरेको थियो ।
गत वर्ष तेस्रो त्रैमासको तुलनामा बैंकको खुद ब्याज आम्दानी ७.७ प्रतिशतले बढेर ३ खर्ब ६ अर्ब भारु पुगेको छ । बैंकको खुद संचालन आम्दानी ९.०१ प्रतिशतले बढेर ८ खर्ब ५० अर्ब भारु पुगेको छ । समीक्षा अवधिमा बैंकले २५६ खर्ब निक्षेप संकलन गरी २५१ खर्ब कर्जा लगानी गरेको छ ।
बैंकको चुक्ता पूँजी ७ अर्ब ६४ करोड भारतीय रुपैयाँ रहेको छ । फेसभ्यालू १ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी २१.९० रुपैयाँ छ । फेसभ्यालू १०० रुपैयाँ मान्दा बैंकको प्रतिसेयर आम्दानी २१९० रुपैयाँ हुन्छ । बैंकको सेयरको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १६६२ भारु छ ।
एचडीएफसी बैंकको ४१०० बढी सहरमा ९ हजार १४३ वटा शाखाहरू र २१ हजार ४९ वटा एटीएम संचालनमा छन् । बैंकको कुल ब्यालेन्ससिटको आकार ३७५ खर्ब भारु रहेको छ ।