खराब कर्जाले थिचिए बैंक : १५ वटाको ४ प्रतिशत माथि, ४ बैंकको सीमा नाघ्यो

काठमाडौं । वाणिज्य बैंकहरूको खराब कर्जा ह्वात्तै बढेको छ । आर्थिक शिथिलता कायमै रहकाले कर्जा असुलीमा समस्या हुँदा बैंकहरूको खराब कर्जा बढेको हो ।

दोस्रो त्रैमासमा बैंकहरूको खुद नाफा सामान्य (४.६२ प्रतिशत) मात्रै घटे पनि खराब कर्जा भने ह्वात्तै बढेको छ ।

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकहरूको औसत खराब कर्जा बढेर ४.४९ प्रतिशत पुगेको छ । यो गत वर्ष सोही अवधिको तुलनामा १.०९ प्रतिशत बिन्दुले धेरै हो । गत पुसमा बैंकहरूको खराब कर्जा औसतमा ३.४० प्रतिशत थियो ।

समीक्षा अवधिमा १९ वटा बैंकको खराब कर्जा बढेको छ भने एभरेष्टको मात्रै मात्रै घटेको छ । जसमा एनआइसी एसिया बैंकको सबैभन्दा धेरै दोब्बरभन्दा धेरैले बढेको छ ।

आर्थिक मन्दीका कारण विगत २ वर्षदेखि बैंकहरूको खराब कर्जा त्रैमासैपिच्छे बढ्दै आएकोमा गत असारमा भने घटेको थियो । तर, अहिले फेरि बढेको हो । २०८० चैतमा ३.६३ प्रतिशत रहेको बैंकहरूको खराब कर्जा असारमा घटेर ३.३८ प्रतिशतमा झरेको थियो । गत असोज आइपुग्दा बढेर ३.८६ प्रतिशत पुगेकोमा अहिले साढे ४ प्रतिशत पुगेको हो ।

अर्थतन्त्र शिथिल हुँदा व्यापार, व्यवसाय चौपट भएको छ । आम मानिसको आम्दानी घटेको छ भने ऋण तिर्ने क्षमतामा समेत ह्रास आएको छ । जसकारण ऋणीले ऋण तिर्न नसक्दा बैंकहरूको खराब कर्जा बढेको हो ।

बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढी हुनु भनेको वित्तीय स्वस्थ्य बिग्रिनु हो । खराब कर्जाले सीमा नाघेपछि राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउँदै शीघ्र सुधारात्मक कारबाही समेत गर्नसक्छ । त्यस्तो कारबाहीमा पर्ने संस्थालाई राष्ट्र बैंकले शाखा विस्तारसँगै व्यवसाय विस्तारमा समेत रोक लगाउन सक्छ ।

बैंकहरूले धितो लिलाम गरेको सम्पत्ति समेत बिक्न छाडेको छ । जसकारण बैंकहरूको खराब कर्जासँगै गैरबैंकिङ सम्पत्ति समेत बढिरहेको छ ।

अहिले बैंकहरूले दोहोरो दबाबमा परेका छन् । एकातिर कर्जाको माग नबढ्दा नयाँ व्यवसाय विस्तार गर्न सकेका छैनन् भने अर्कोतर्फ विगतमा गरिएको ऋण असुल्न सकेका छैनन् ।

बैंकिङ व्यवसायमा राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत बैंकहरूलाई केही सहुलियत दिएको थियो । त्यसले बैंकहरूको नाफा धेरै घट्न नदिए पनि खराब कर्जा भने घटाउन नसकेको देखिन्छ ।

राष्ट्र बैंकले बैंकहरूले असल धितोमा राख्नुपर्ने नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) १.२ प्रतिशतबाट घटाएर १.१ प्रतिशतमा झारेको थियो । त्यस्तै, राष्ट्र बैंकले निष्क्रिय वर्गमा वर्गीकरण भएको कर्जा नियमित भइसकेको अवस्थामा ६ महिनापछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्थालाई परिमार्जन गरी ६ महिनासम्म सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गरी उक्त अवधिपछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्था गरेको थियो ।

१५ बैंकको खराब कर्जा ४ प्रतिशत माथि

पुस मसान्तसम्म २० वाणिज्य बैंकहरूमध्ये १५ बैंकको खराब कर्जा ४ प्रतिशत माथि पुगेको छ । जसमा ४ बैंकको सीमा माथि अर्थात् ५ प्रतिशत नाघेको छ ।

खराब कर्जा धेरै हुनेमा अधिकांश मर्जरमा गएका बैंकहरू रहेका छन् । मर्जरअघि कमजोर बैंकले लगानी गरेको कर्जा अहिले असुली हुन नसक्दा खराब कर्जा ह्वात्तै बढेको हो । यद्यपि, मर्जरमा नगएका केही बैंकको पनि खराब कर्जा उच्च छ ।

समीक्षा अवधिमा कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज र प्रभु बैंकको खराब कर्जाले सीमा नाघेको छ । जसमा कुमारीकोे सबैभन्दा धेरै ६.९६ प्रतिशत छ । त्यस्तै, इन्भेष्टमेन्ट मेगाको ५.८६ प्रतिशत, लक्ष्मी सनराइज ५.६७ प्रतिशत र प्रभुको ५.०६ प्रतिशत रहेको छ ।

त्यसैगरी, ६ बैंकको खराब कर्जा ५ प्रतिशत नजिक पुगेको छ । जसमा नेपाल बैंक ४.९९ प्रतिशत, हिमालयन ४.९८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक र प्राइम कमर्शियल समान ४.९६ प्रतिशत, नबिल ४.९३ प्रतिशत र कृषि विकासको ४.९० प्रतिशत रहेको छ ।

त्यस्तै, ५ बैंकको खराब कर्जा ४.५ प्रतिशतदेखि ४.९० प्रतिशतको बीचमा छ । ग्लोबल आइएमई ४.८६ प्रतिशत, सिटिजन्स ४.८५ प्रतिशत, एनआइसी एशिया ४.६१ प्रतिशत, माछापुच्छ्रे ४.५४ प्रतिशत र सिद्धार्थ बैंकको ४.५ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा एनएमबी, नेपाल एसबीआइ र सानिमा बैंकको खराब कर्जा ३ देखि ४ प्रतिशतको बीचमा छ ।

स्ट्याण्डर्ड चार्टर्डको १.७१ प्रतिशत रहेको छ । २० वटा वाणिज्य बैंक मध्ये एभरेष्ट बैंकको मात्रै खराब कर्जा १ प्रतिशत कम छ । एभरेष्टको खराब कर्जा सबैभन्दा कम ०.६६ प्रतिशत मात्र छ । गत वर्षको तुलनामा एभरेष्टले खराब कर्जा ०.११ प्रतिशत बिन्दुले घटाउन सफल भएको छ । यो त्रैमासमा खराब कर्जा घटाउने एभरेष्ट एक मात्र बैंक हो ।

एउटै पालिकाबाट बिक्री भयो ६ करोडको अदुवा Read Previous

एउटै पालिकाबाट बिक्री भयो ६ करोडको अदुवा

तीन वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा Read Next

तीन वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा