चक्रपथमा गुड्ने ७८ प्रतिशत गाडी प्रदूषण जाँचमा फेल

काठमाडौं । काठमाडौंको चक्रपथमा गुड्ने ७८ प्रतिशत सवारीसाधन प्रदूषण जाँचमा फेल भएका छन् । काठमाडौं महानगरपालिकाले ट्राफिक प्रहरीसँगको सहकार्यमा आज चक्रपथ अन्तर्गत सुकेधारा हुँदै गुड्ने सवारी साधनको जाँच्मा यस्तो पाइएको हो ।

आज ४० वटा डिजेलका सवारी साधनको प्रदूषण चेकजाँच गर्दा ३१ वटा फेल भएका हुन् । जम्मा ९ वटा सवारीले मात्रै प्रदूषण मापदण्ड पालना गरेको भेटिएको हो ।

महानगरले पुस २९ गतेबाट थालेको चेकजाँचका क्रममा आजसम्म डिजेलबाट चल्ने १४० वटा र पेट्रोलबाट चल्ने २० गरी १६० वटा सवारी साधनको जाँच भएको छ । यीमध्ये डिजेलबाट चल्ने ९४ वटा र पेट्रोलबाट चल्ने ६ वटा सवारी फेल भएका छन् ।

माघ ६ गते टेकुमा चेकजाँच गरिएका ४० वटा सवारी साधनमध्ये ३३ वटा फेल भएका भेटिए । माघ ४ गते सिनामंगल क्षेत्रमा २० वटा सवारी साधनको चेकजाँच गर्दा १० वटा प्रदुषण मापदण्ड बाहिरका पाइए ।

माघ ३ गते पानीपोखरी क्षेत्रमा २० वटा सवारी साधनको चेकजाँच गर्दा १४ वटा फेल भएका साधन थिए । माघ २ गते जमल क्षेत्रमा २० वटाको चेकजाँच गर्दा ६ वटा फेल थिए । पुस २९ गते बबरमहलमा २० वटा परीक्षण गर्दा ६ वटा फेल थिए । यसरी गरिएको परीक्षणमा मापदण्डबाहिर रहेका सवारी साधनलाई मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कवुलियतनामा गराइएको छ ।

वायु प्रदुषण नियन्त्रणका प्रयासमध्ये सवारी साधनबाट निस्कने प्रदुषक तत्व न्यूनीकरण तथा नियन्त्रणका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा स्थलगत चेकजाँच गरिरहेको छ ।

बागमतीका १३७ सहकारी विरुद्ध उजुरी, ८० संस्थाका संचालकलाई कारबाही गर्न पत्रचार Read Previous

बागमतीका १३७ सहकारी विरुद्ध उजुरी, ८० संस्थाका संचालकलाई कारबाही गर्न पत्रचार

हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस Read Next

हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस