विवादमा मुछिएपछि २३५६ मेगावाटका दुई हाइड्रोपावरको लगानी जुटाउने प्रक्रिया नै रद्द

काठमाडौं । विद्युत् उत्पादन कम्पनी लिमिटेडले २३५६ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजनाका लागि वित्तीय लगानी आह्वानको आशयपत्र सम्बन्धी प्रक्रिया रद्द गरेको छ ।

कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले ४५६ मेगावाटको किमाथांका अरुण जलविद्युत् आयोजना र १९०२ मेगावाटको मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटाउने उद्देश्यले आह्वान गरिएको प्रस्तावको प्रक्रिया रद्द गर्ने निर्णय हो ।

निश्चित व्यक्ति र व्यापारिक घरानालाई अनुकूल हुने गरी हतारहतार कार्यविधि बनाएर यी दुई जलविद्युत् आयोजनाका लागि गत मंसिर २३ गते लगानी प्रस्ताव आह्वान गरिएको थियो । सेटिङमा प्रस्ताव आह्वान भएको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको चौतर्फी विरोध भएपछि अहिले प्रक्रिया नै रद्द गरिएको हो ।

अब कार्यविधि संशोधन गरेर मात्र वित्तीय साझेदारीका लागि कम्पनी छनोट प्रक्रिया अघि बढाइने जनाइएको छ ।

पीपीपी मोडलमा निर्माण गरिने यी आयोजनामा स्वपूँजी (इक्विटी) को ५१ प्रतिशत लगानी गर्न साझेदारी खोज्ने प्रक्रिया अघि बढाइएको थियो ।१९०२ मेगावाटको जलाशययुक्त मुगु कर्णालीका लागि कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीको सीजी इनरगो प्रालिको मात्र प्रस्ताव परेको थियो । एउटामात्र प्रस्ताव परे पनि प्रक्रिया अघि बढाउने गरी कार्यविधि बनाइएको थियो ।

त्यस्तै ४५४ मेगावाटको किमाथांका अरुणका लागि नोबेल ग्रुप अफ हाइड्रो इनर्जीका साथै बेला नेपाल इन्डस्ट्रिज, भिजन इनर्जी एन्ड पावर, एनजे हाइड्रो इनर्जी र अनक हाइड्रोपावर गरी ५ कम्पनीको प्रस्ताव थियो ।

यी २ आयोजना निर्माणको अनुमानित लागत ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ रहेको छ । ४५६ मेगावाटको अर्धजलाशययुक्त प्रकृतिको किमाथांका अरुण जलविद्युत् आयोजनाको अनुमानित लगानी ९३ अर्ब ८० करोड रुपैयाँ रहेको छ । त्यस्तै, १९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको निमार्णका लागि ४ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

किमाथांका अरुण आयोजना संखुवासभा भोटखोला गाउँपालिकामा निर्माण हुनेछ । छुम्सुर गाउँनजिक नदीको सतहदेखि ७० मिटर अग्लो बाँध बनाई १०३ लाख घनमिटरको जलाशय बनाउने प्रस्ताव गरिएको छ । आयोजनामा ८ मिटर व्यास भएको ५ हजार १९८ मिटर लामो हेडरेस सुरुङ बनाइने भएको छ । आयोजनामा पानीको वहाव १४३ घनमिटर प्रतिसेकेण्ड ३७९ मिटर अग्लो हेडबाट खसालेर वार्षिक २ अर्ब ६५ करोड ५१ लाख २० हजार युनिट बिजुली उत्पादन हुने गरी आयोजनाको डिजाइन गरिएको छ ।

त्यस्तै, मुगु कर्णाली आयोजनाबाट वार्षिक ५८८३.१० गिगावाट बिजुली उत्पादन हुनेछ । आयोजनाको बाँध करिब २५० मिटर अग्लो हुनेछ । यो आयोजनाबाट कालिकोट, मुगु, हुम्ला, जुम्ला र बाजुरा गरी ५ जिल्लाका विभिन्न क्षेत्र प्रभावित हुनेछन ।

धरानमा सुर्तीजन्य वस्तु किनबेचमा प्रतिबन्ध Read Previous

धरानमा सुर्तीजन्य वस्तु किनबेचमा प्रतिबन्ध

तंग्रिँदै घरजग्गा व्यवसाय, पुसमा ७ महिना यताकै धेरै किनबेच Read Next

तंग्रिँदै घरजग्गा व्यवसाय, पुसमा ७ महिना यताकै धेरै किनबेच