तंग्रिँदै घरजग्गा व्यवसाय, पुसमा ७ महिना यताकै धेरै किनबेच

काठमाडौं । पछिल्ला तीन महिना यता घरजग्गा कारोबारमा लगातार सुधार आएको छ । चालु आर्थिक वर्षको कात्तिक यता घरजग्गा कारोबार महिनैपिच्छे बढ्न थालेको हो ।

भूमि व्यवस्थापन विभागका अनुसार चालु आवको पुसमा देशभरका १३२ मालपोत कार्यालयबाट कुल ४८ हजार १५६ वटा घरजग्गाको लिखत पारित (किनबेच) भएको छ । यो ७ महिना अर्थात् २०८१ जेठ यताकै धेरै हो ।

मंसिरको तुलनामा पुसमा घरजगग्गा कारोबार ११.०१ प्रतिशतले बढेको छ । त्यस्तै, कात्तिकको तुलनमा मंसिरमा घरजग्गा किनबेच २९.४३ प्रतिशतले बढेको थियो ।

मंसिरको तुलनामा पुसमा घरजग्गा किनबेच ४ हजार ७७७ वटाले बढेको हो । मंसिरमा देशभरमा ४३ हजार ३७९ वटा घरजग्गा कारोबार भएको थियो ।

त्यस्तै, गत वर्ष पुसको तुलनामा पनि चालु आवको पुसमा घरजग्गा कारोबार ६.३५ प्रतिशतले बढेको छ । गत वर्ष पुसमा ४५ हजार २७७ वटा घरजग्गको लिखत पारित भएको थियो । यस वर्ष गत वर्ष पुसको भन्दा यस वर्ष २ हजार ८७९ वटा धेरै घरजग्गा किन्बेच भएको हो ।

पुसमा घरजग्गा कारोबारमा सुधार देखिए पनि अझै लयमा भने आउन सकेको छैन । अहिले घरजग्गा कारोबारको सिजन भए पनि आर्थिक शिथिलताका कारण किनबेच बढ्न नसकेको व्यवसायीहरू बताउँछन् ।

यद्यपि, आगामी महिनाहरूमा भने घरजग्गा कारोबार बढ्ने व्यवसायी आशावादी छन् । सरकारले हालै अध्यादेशमार्फत रियलस्टेट कम्पनीहरूले हदबन्दीभन्दा बढी रहेको जग्गा प्लटिङ गरी बेच्न पाउने व्यवस्था गरेको छ । यसले शिथिल घरजग्गा व्यवसायलाई चलायनमान बनाउन सहयोग पुग्ने उनीहरूको भनाइ छ ।

चालु आवको ६ महिनामा देशभरमा २ लाख ३२ हजार २०९ वटा घरजग्गा किनबेच भएको छ । जसमा साउनमा ४३ हजार ८३५ वटा, भदौमा ३२ हजार ७९८, असोजमा ३० हजार ५२७, कात्तिकमा ३३ हजार ५१४ र मंसिरमा ४३ हजार ३७९ वटा घरजग्गाको लिखत पारित भएको थियो ।

२०७९ जेठमा सरकारले भू–उपयोग नियमावली लागू गरेदेखि लगातार ओरालो लागेको घरजग्ग कारोबारले अझै गति लिन नसकेको हो । घरजग्गा कारोबारमा सुधार ल्याउन सरकार र नेपाल राष्ट्र बैंकले एकपछि अर्को खुकुलो नीति ल्याए पनि कारोबार भने बढ्न सकेको छैन ।

सरकारले २०८० साउन अन्तिममा भूउपयोग नियमावली संशोधन गरेर यथास्थितिमै कित्ताकाट खुलाएको थियो । सो बेला १ वर्षभित्र जग्गा वर्गीकरण गरिसक्न समय सीमा तोकिएको थियो । थपिएको समयमा वर्गीकरण नसकिँदा २०८१ असारदेखि फेरि कित्ताकाट रोकिएको थियो । कित्ताकाट नै रोकिएपछि सरकारले २०८१ भदौ २६ गते जग्ग वर्गीकरण गर्ने समय २०८२ असारसम्म थप्दै फेरि कित्ताकाट खुलाएको छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले व्यक्तिगत घर कर्जाको सीमा बढाएर २ करोड पुर्याएको छ भने रियल ई–स्टेट कम्पनीलाई दिइने कर्जाको भार १०० प्रतिशतमा झारेको थियो । त्यस्तै, रियल ई–स्टेट कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको थियो ।

त्यस्तै, राष्ट्र बैंकले २०८० असोजमा घरजग्गा धितो कर्जाको सीमा पनि बढाएको थियो । ५० लाख रुपैयाँसम्म व्यक्तिगत आवसीय कर्जा प्रवाह गर्दा ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशत पुर्याएको थियो । त्यसअघि लोन टु भ्यालु रेसियो काठमाडौं उपत्यकामा ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत थियो ।

त्यसैगरी, काठमाडौं उपत्यका भित्र रियल ई–स्टेट कर्जाको धितो संरक्षणमा ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशत पुर्याएको थियो । साथै, नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनीररियोजनाहरूलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था गरेको थियो । त्यससअघि यस्तो सीमा ४० प्रतिशत थियो । त्यस्तै, २०८१ जेठमा ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याएको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा सहजै कर्जा पाइने अवस्था छ भने ब्याजदर समेत घट्दो क्रममा छ । अहिले बैंकहरूको औसत बेसरेट नै ७ प्रतिशतमा झरिसकेको छ । बैंकहरूले एकल अंकको ब्याजदरमै घरकर्जाका स्कीम ल्याउन थालेका छन् । यद्यपि, अपेक्षित रूपमा भने बढ्न सकेको छैन ।

राजस्वमा पनि सुधार

पुसमा कारोबार बढेसँगै सरकारको आम्दानी पनि उल्लेख्य बढेको छ । मंसिरको तुलनामा पुसमा राजस्व संकलन झण्डै ३८ करोड रुपैयाँ बढेर ४ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । यो चालु आवको कुनै एक महिनामा उठेको सबैभन्दा धेरै राजस्व हो ।

पुसमा रजिस्ट्रेशन शुल्क बापत २ अर्ब ६८ करोड र पूँजीगत लाभकरबापत १ अर्ब ६० करोड रुपैयाँ राजस्व उठेको विभागको तथ्यांक छ ।

चालु आवको ६ महिनामा घरजग्गा कारोबार बापत २० अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । जसमा साउनमा ३ अर्ब ८३ करोड, भदौमा ३ अर्ब ८ करोड, असोजमा ३ अर्ब ९ करोड, कात्तिकमा २ अर्ब ७० करोड र मंसिरमा ३ अर्ब ८७ करोड रुपैयाँ राजस्व उठेको थियो।

यी जिल्लामा भयो धेरै कारोबार

विगतका महिनाहरूमा जस्तै पुसमा पनि तराईका जिल्लाहरूमै धेरै घरजग्ग किनबेच भएको छ । पुसमा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट सबैभन्दा धेरै १ हजार ८६७ वटा लिखत पारित भएको छ ।

त्यस्तै, मालपोत कार्यालय मोरङबाट १ हजार ६३२, भद्रपुरबाट १ हजार ६२३, जनकपुरधामबाट १ हजार ५३४, राजविराजबाट १ हजार २५८, मलंगवाबाट १ हजार १११, सिारहबाट १ हजार र तौलीहवाबाट १ हजार ५१ वटा घरजग्गा किनबेच भएको छ ।

काठमाडौं उपत्यकामा मालपोत कार्यालय भक्तपुरबाट सर्वाधिक ९४३ वटा घरजग्गा किनबेच भएको छ । त्यस्तै, मालपोत कार्यालय लगनखेलबाट ८१४, कलंकीबाट ५९४, चाबहिलबाट ४३०, साँखुबाट ४४९, मनमैजुबाट २५८, डिल्लीबजारबाट २०० र टोखाबाट १७९ वटा लिखत पारित भएको छ ।

विवादमा मुछिएपछि २३५६ मेगावाटका दुई हाइड्रोपावरको लगानी जुटाउने प्रक्रिया नै रद्द Read Previous

विवादमा मुछिएपछि २३५६ मेगावाटका दुई हाइड्रोपावरको लगानी जुटाउने प्रक्रिया नै रद्द

दुग्ध विकास संस्थानले महानगरलाई तिर्‍यो ३१ वर्षको सम्पत्ति कर Read Next

दुग्ध विकास संस्थानले महानगरलाई तिर्‍यो ३१ वर्षको सम्पत्ति कर