वीरगञ्ज । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले कूल वार्षिक लक्ष्यको ३८.८७ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सकेको हो ।
गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयको राजस्व सङ्कलन १अर्ब ४५ करोड ४१ लाख ७९ हजार रुपैयाँले कमी आएको छ ।
कार्यालयले चालु आवको साउन महिनामा ३ अर्ब ७५ करोड २२ लाख रुपैयाँ राजस्व सङ्कलन गर्यो । त्यस्तै भदौ महिनामा ४ अर्ब ६४ करोड ३० लाख, असोज महिनामा ४ अर्ब ३६ करोड ४५ लाख, कात्तिक महिनामा ३ अर्ब ७९ करोड २९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
त्यस्तै मङ्सिर महिनामा ३ अर्ब २२ करोड ८४ लाख र पुस महिनामा ३ अर्ब ५६ करोड २१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । कार्यालयले गत आवको ६ महिनाको अवधिमा भने २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार राजस्व सङ्कलन भएको थियो ।