काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण पूरा भएको छ । मेलम्चीको पानी पुनः वितरण सुरु भएसँगै आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले पाइपलाइनको परीक्षण सुरु गरेको थियो ।
मेलम्ची उपआयोजना-२ अन्तर्गत बिच्छ्याइएका कुल ३३ वटा खानेपानी वितरण सञ्जालका ९८० किलोमिटर पाइपलाइनको परीक्षण सम्पन्न भएको निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिए ।
परीक्षण सम्पन्न भएका थप ३३ मध्ये १४ वटा खानेपानी वितरण सञ्जालको स्वामित्व काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई स्वामित्व हस्तान्तरण भइसकेकामा अब बाँकी १९ वटाको हस्तान्तरण प्रक्रिया अगाडि बढाइएको निर्देशनालयका का उप–निर्देशक चन्द्रकुमारपाँ श्रेष्ठले बताए ।
उनले भने, ‘कुल ३३ वटा खानेपानी वितरण सञ्जालमा यसअघि पहिलो चरणमा चार र दोस्रो चरणमा दस गरी १४ वटा खानेपानी वितरण सञ्जालका ३५० किलोमिटर पाइलाइनको परीक्षण गरी बोर्डलाई हस्तान्तरण भइसकेको छ । तेस्रो चरणका बाँकी १९ वटा हस्तान्तरण प्रक्रिया अगाडि बढेको छ ।’
खानेपानी वितरण सञ्जालका प्राइमरी पाइपलाइन, ३३ वटा खानेपानी वितरण सञ्जालमा कुल १ हजार १० किलोमिटर पाइपलाइन रहेको जनाइएको छ । सञ्जालबाट खानेपानी वितरण हुँदै आएका पाइपलाइनमा हालसम्म ६० हजार ८३१ वटा नयाँ मिटर समेत जडान गरिसकिएको जनाइएको छ ।