मंसिरसम्म वाणिज्य बैंकले कमाए साढे ३० अर्ब नाफा, कुनले कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना (साउन-मंसिर)मा वाणिज्य बैंकहरूले साढे ३० अर्ब बढी खुद नाफा कमएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर मसान्तसम्म १९ वाणिज्य बैंकहरू (कृषि विकास बाहेक)ले कुल ३० अर्ब ५९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

गत आवको सोही अवधिको तुलनामा वाणिज्य बैंकहरूको नाफामा ७.८४ प्रतिशत अर्थात् २ अर्ब २२ करोड रुपैयाँले बढेको हो । गत वर्ष मंसिरसम्म बैंकहरूले कुल २८ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।

अर्थतन्त्रमा आएको संकुचनका बाबजुद बैंकहरूले नाफा बढाउन सफल भएका छन् । समीक्षा अवधिमा बैंकहरूले नयाँ व्यवसाय विस्तार गरेर भन्दा पनि राष्ट्र बैंकको लचकता र कर्जा रिकभरीबाट नाफा वृद्धि गरेका हुन् ।

आर्थिक शिथिलताका कारण कर्जाको माग नहुँदा बैंकहरूले खासै व्यवसाय विस्तार गर्न सकेका छैनन् । नयाँ कर्जा विस्तार गर्न नसके पनि पुरानो ऋण असुलीमा केन्द्रीत हुँदा ब्यालेन्स सिटमा सुधार ल्याउन सफल भएका हुन् । चालु आवको ५ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले समग्रमा १ खर्ब ६३ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गरेका छन् ।

साथै, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत असल ऋणमा राख्नुपर्ने नोक्सानी व्यवस्थापन रकम १.२ प्रतिशतबाट १.१ प्रतिशतमा झारेको थियो । यसले पनि नाफा बढाउन केही सहयोग गरेको छ ।

त्यस्तै, अहिले निक्षेपको ब्याजदर घट्दा बैंकहरूको खर्च पनि केही घटेको छ । ब्याज खर्च घटेकाले पनि नाफामा बढाउन भूमिका खेलेको छ ।

समीक्षा अवधिमा १३ बैंकको नाफा बढेको छ भने ६ वटाको घटेको छ । यस अवधिमा नेपाल एसबीआइले खुद नाफा सबैभन्दा धेरै ९०.४८ प्रतिशतले बढाएको छ । त्यस्तै, लक्ष्मी सनराइजको ८२.७० प्रतिशत, सिद्धार्थको ५६.९५ प्रतिशत र कुमारीको ५३.१५ प्रतिशतले बढेको छ ।

नेपाल इन्भेष्टमेन्ट, हिमालयन, सानिमा, एनआइसी एशिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेको छ । जसमा एनआइसीको नाफा सबैभन्दा धेरै ६५.७८ प्रतिशतले घटेको छ । सरकारी स्वामित्वको कृषि विकास बैंक भने विवरण सार्वजनिक भएको छैन ।

कुनले कति कमाए ?

५ महिनामा नबिल बैंकले सबैभन्दा धेरै ३ अर्ब ४९ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा नबिलको नाफा २१७.७८ प्रतिशतले बढेको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकले दोस्रो धेरै २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । ग्लोबलले गत वर्ष २ अर्ब ७३ करोड रुपैयाँ नाफा कमाएको थियो ।

मंसिरसम्म नेपाल इन्भेष्टमेन्टले २ अर्ब ४९ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा इनभेष्टमेन्टको नाफा ४.५२ प्रतिशतले घटेको छ ।

त्यसैगरी, मंसिरसम्म कुमारीले १ अर्ब ९९ करोड, प्राइम कमर्सियलले १ अर्ब ९६ करोड, एभरेष्टले १ अर्ब ९४ करोड रुपैयाँ र एनएमबीले १ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएका छन्।

त्यसैगरी, प्रभुले १ अर्ब ८३ करोड, लक्ष्मी सनराइजले १ अर्ब ६४ करोड, नेपाल बैंकले १ अर्ब ५१ करोड, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब ३७ करोड, नेपाल एसबीआईले १ अर्ब ३४ करोड र हिमालयनले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

यस अवधिमा ६ बैंकको नाफा भने १ अर्ब रुपैयाँभन्दा कम छ । जसमा नेपाल सिद्धार्थ बैंकले ९७ करोड ९० लाख, सानिमाले ९० करोड ४१ लाख, राष्ट्रिय वाणिज्यले ८६ करोड ७१ लाख, माछापुच्छ्रेले ८२ करोड ७४ लाख, सिटिजन्सले ६९ करोड ४९ लाख र एनआइसी एशियाले सबैभन्दा कम ६ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ ।

सुदूरको पर्यटनमा नयाँ ढोका खोल्दै जाल्पादेवी केबलकार Read Previous

सुदूरको पर्यटनमा नयाँ ढोका खोल्दै जाल्पादेवी केबलकार

बिरामी प्रेषण राष्ट्रिय निर्देशिका जारी Read Next

बिरामी प्रेषण राष्ट्रिय निर्देशिका जारी