काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी माघ भित्रै खाना पकाउने एलपी ग्यासलाई औद्योगिक र घरायसी प्रयोजनमा छुट्याएर बिक्री गरिने बताएका छन् ।
शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले सरकारले यसअघि नै बनाएको घरायसी र औद्योगिक प्रयोजनका लागि फरक फरक मूल्यमा बिक्रीकाे योजना माघ भित्रै कार्यान्वयनमा ल्याइने बताएका हुन् ।
हाल सरकारले एलपी ग्यासमा वार्षिक ११ अर्ब रुपैयाँ अनुदान दिँदै आएको उनले बताए । अब उक्त अनुदान घरायसी प्रयोजनमा मात्र दिइने उनले बताए ।
उनका अनुसार अहिले प्रतिसिलिन्डर ३०० रुपैयाँ हाराहारी अनुदान दिने गरिएको छ । अब औद्योगिक क्षेत्रमा दिइने अनुदान कटौती गरी घरायसी प्रयोजनमा केन्द्रित गरी जनतालाई अनुदानको अनुभूति दिलाइने उनले बताए ।
अनुदान घरायसी प्रयोजनमा मात्र सीमित गर्ने हो भने सरकारको खर्च ९ अर्ब रुपैयाँले बच्ने देखिएको उनले बताए । घरायसी प्रयोजनमा दिएको अनुदान अझै बढाउन सकिने देखिएको उनको भनाइ छ ।
सरकारले लामो समयदेखि एलपी ग्यास औद्योगिक र घरायसी प्रयोजनका लागि छुट्याएर बेच्ने योजना बनाए पनि कार्यान्वयनमा ल्याउन सकेको छैन ।