काठमाडौं । राष्ट्र बैंकको नियन्त्रणमा रहेको कर्णाली डेभलपमेन्ट बैंकको सम्पति तथा दायित्व मूल्यांकन (डीडीए) हुने भएको छ ।
राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले एक सूचना जारी गर्दै कर्णालीको डीडीए गर्न इच्छुक चार्टर्ड एकाउन्टेन्ट फर्म तथा कम्पनीलाई १५ दिनभित्र दरभाउ पेस गर्न आह्वान गरेको हो ।
इच्छुक फर्म तथा कम्पनीले आगामी माघ १० गतेभित्र नेपालगञ्जस्थित कर्णाली डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालयमा दरभाउ पेस गर्न सक्ने समितिले जनाएको छ ।
कर्णालीलाई नेपाल राष्ट्र बैंकले गत पुस १० गते समस्याग्रस्त घोषणा गर्दै आफ्नो नियन्त्रणमा लिएको थियो । राष्ट्र बैंकले त्यसअघि मंसिर ११ गते कर्णालीलाई शीघ्र सुधारात्मक कारबाही गरेको थियो । त्यसपछि पनि बैंकको अवस्थामा सुधार नदेखिएपछि समस्याग्रस्ता घोषणा गर्दै व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको हो ।
राष्ट्र बैंकको व्यवस्था अनुसार विकास बैंकको खराब कर्जा ५ प्रतिशत भन्दा कम र पूँजीकोष १० प्रतिशत माथि हुनुपर्छ । तर, राष्ट्र बैंकले गरेको अनुगमनमा बैंकको खराब कर्जा ४०.८५ प्रतिशत पाइएको छ ।
पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको चुक्ता पूँजी ५० करोड २८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ करोड ८ लाख रुपैयाँ संचित छ ।
यस अवधिसम्म बैंकमा सर्वसाधरणको ५ अर्ब २१ करोड रुपैयाँ निक्षेप छ । बैंकले ३ अर्ब ८१ करोड रुपैयाँ ऋण लगानी गरेको छ । असोजसम्म बैंक १ करोड ९८ लाख रुपैयाँ घाटामा छ भने वितरण योग्य नाफा २० करोड ८३ लाख ऋणात्मक छ ।