माघे सङ्क्रान्तिका लागि टोखामा यसरी बन्दैछ चाकु (फोटोफिचर)

काठमाडौं । माघेसङ्क्रान्ति पर्व नजिकिँदै गर्दा ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारमा चाकु बनाउन भ्याइनभ्याइ भएको छ ।

माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलनअनुसार यतिबेला काठमाडौँको टोखाका व्यवसायी चाकु र तिलका लड्डु बनाउन भ्याइनभ्याइ भएको हो । विशेष गरी नेवार समुदायमा माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन छ । टोखा नेवार समुदायको मुख्य बस्ती रहेको बजार हो ।

टोखामा काठमाडौँका अन्यत्र स्थानको तुलनामा माघे सङ्क्रान्तिका लागि चाकु बढी उत्पादन हुने गर्दछ । माघे सङ्क्रान्ति पर्व आउन एक हप्तामात्र बाँकी रहँदा यहाँका उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याइ देखिन्छ ।

टोखा नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने टोखा बजारभित्र चाकु उत्पादन गर्ने १४ उद्योग छन् । ती उद्योग वरिपरि यतिबेला मानिसहरूको चहलपहल पनि बढेको देखिएको छ । टोखावासी मात्रै नभई काठमाडौँका अधिकांश पसलेले पनि यहीँबाट चाकु लगि बिक्री गर्ने भएकाले उनीहरूको पनि बाक्लो उपस्थिति देखिन थालेको हो । अहिले नै चाकु किन्ने तथा खरिदका लागि ‘बुकिङ’ गर्न व्यवसायीहरू त्यहाँ पुग्ने गरेका छन् ।

चाकु प्रतिकिलो १४० रुपैयाँ, खुवाको चाकु ५०० रुपैयाँ र कालो तिल र सेतो तिलको लड्डु प्रतिकिलो ३०० रुपैयाँमा बिक्री भइरहेको छ।

२०१६ सालसम्म चाकु बनाउने उखु टोखामै उत्पादन हुन्थ्यो । पहिले थोरै मात्रामा बन्ने चाकु अहिले १२ महिना उत्पादन हुन्छ। टोखामा अहिले भारतबाट आयात भएको सख्खरबाट चाकु बनाउनुपर्ने बाध्यता छ। बजारमा माग बढे पनि जनशक्तिको भने अभाव भएको व्यवसायी बताउँछन्।

‘हामी चाकु व्यवसाय गर्ने अन्तिम पुस्ता हुने हो कि भन्ने चिन्ता बढेको छ’, व्यवसायी बुद्ध श्रेष्ठले भने। नयाँ पुस्ता यस व्यवसायमा आकर्षित नहुँदा जनशक्तिको अभाव भएको उनको भनाइ छ। अहिले चाकु बनाउन बाहिरबाट जनशक्ति ल्याउनुपर्छ। पहिले हातले फिटेर बनाउने गरिएको सेतो तिलको लड्डु, कालो तिलको लड्डु, झोल चाकु, स्पेसल चाकु, पुष्टकारी, बदाम लड्डु, मुरमुरे लड्डु अहिले प्रविधिको विकाससँगै मेसिनले पनि बनाउन थालिएको छ।

टोखाको चाकु काठमाडौँका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा बिक्री हुँदै आएको छ ।

यसैगरी, उक्त चाकु नेवार समुदाय भएको विदेशका विभिन्न मुलुकममा बिक्री वितरण हुन्छ ।टोखामा उत्पादन भएको चाकु अहिले प्रतिकिलो १३५ देखि १४० सम्म बिक्री वितरण हुँदै आएको छ । त्यस्तै, खुवाको चाकु प्रतिकिलो ५०० रुपैयाँ र सेतो तिलको लड्डु प्रतिकिलो ३०० रुपैयाँमा बिक्री भइरहेको छ।

नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती तथा चाकु उत्पादनका लागि प्रसिद्ध ठाउँ हो । अध्यक्ष श्रेष्ठ टोखामा परम्परादेखि नै उखुखेती हुने र उक्त उखुबाट चाकुलगायत विभिन्न परिकार बनाइने भएकाले पनि टोखाको चाकुको महत्त्व देश र विदेशमा रहेको बताउँछन् । नेवारी भाषामा ‘टु’ र ‘ख्यः’ भन्दाभन्दै उक्त शब्द अपभ्रंश हुँदै ‘टोखा’ हुन गएको मानिन्छ ।

नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ । चाकु चिसो लागेका बेला पनि खाने गरिन्छ । चाकु खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी । 

सगरमाथा क्षेत्रमा हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो Read Previous

सगरमाथा क्षेत्रमा हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो

नेप्सेमा लगातार पाँचौं दिन वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा लगातार पाँचौं दिन वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट