केयर गिभरमा इजरायल जानेको स्वास्थ्य परीक्षण यी ५ संस्थाले गर्ने

काठमाडौं । उच्च अदालतले पाटनले केयरगिभरका रूपमा इजरायल जानेहरूको स्वास्थ्य परीक्षण गर्न छनोट भएका स्वास्थ्य संस्थाको पक्षमा आदेश जारी गरेको छ।

दीर्घकालीन स्याहार केन्द्रमा जाने सहायक श्रमिक (केयरगिभर)को स्वास्थ्य परीक्षण गर्न नेपालका ५ वटा स्वास्थ्य संस्था छनोट भएका थिए । ती संस्थालाई काम गर्न रोक लगाउनुपर्ने माग गर्दै स्वास्थ्य व्यवसायी दिवाकार गौतम लगायतले पुस १६ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

उक्त रिटको सुनुवाई गर्दै उच्च अदालतले पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । उच्च अदालतका न्यायाधीशद्वय लेखनाथ पौडेल र टीकाराम आचार्यको संयुक्त इजलासले रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश सुनाएको हो।

यससँगै ती ५ संस्थाले इजरायल जाने केयरगिभरहरूको स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन्।

पुस ४ गते काठमाडौंस्थित इजरायली दूतावासले श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षणका लागि इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा)बाट आफ्नो मापदण्ड पूरा गर्ने पाँच वटा स्वास्थ्य संस्थालाई अनुमति दिएको थियो ।

नेपाल मेडिसिटी अस्पताल, स्टार हस्पिटल, ह्याम्स हस्पिटल, मनमोहन मेमोरियल मेडिकल कलेज र क्रिस्टल डायग्नोस्टिक प्रालिले इजरायल जानेको स्वास्थ्य परीक्षणको अनुमति पाएका थिए । अब अदालतको आदेश अनुसार यिनै संस्थाले इजरायल जानेको स्वास्थ्य परीक्षण गर्न पाउने छन् ।

ललितपुरको कल सेन्टरमा सीआइबीको छापा, ५३ जना पक्राउ Read Previous

ललितपुरको कल सेन्टरमा सीआइबीको छापा, ५३ जना पक्राउ

सगरमाथा क्षेत्रमा हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो Read Next

सगरमाथा क्षेत्रमा हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो