१० ठूला बैंकको अडिट गर्न आशयपत्र बुझाउने समय ७ दिन थप

काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको अन्तर्राष्ट्रिय अडिटरबाट लेखापरीक्षण गराउने प्रक्रियाका लागि आशयपत्र पेस गर्ने समयावधि ७ दिन थप भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै ठूला बैंकको लोन पोर्टफोलियो रिभ्यू (एलपीआर)का लागि आशयपत्र पेस गर्ने समय ७ दिन थपिएको जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार इच्छुक अडिट फर्मले अब पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकले यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को शर्त बमोजिम विदेशी अडिटरबाट नेपालका १० ठूला बैंकको बाह्य लेखा परीक्षण गर्न भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज एलएलपी, इन्डिया छनोट गरेको थियो । तर, केपीजीले पेश गरेको आर्थिक प्रस्ताव अस्वीकृत भएसँगै गत भदौमा प्रक्रिया नै रद्द गरेको थियो । अहिले फेरि पुनः नयाँ प्रक्रिया सुरु गरेको हो ।

नेपालका बैंकहरूको कर्जाको गुणास्तरमा आशंक लागेपछि आइएमएफले आफ्नै सहयोगमा बाह्य लेखा परीक्षण गर्न सरकारकालाई भनेको थियो । आईएमएफले नेपालका बैंकहरूको खराब कर्जा वास्तविक नभएको, धितो मूल्यांकनसम्बन्धी विधि प्रभावकारी नभएको, वित्तीय अनुशासन नभएको लगायतका विषयहरू उठाएको थियो ।

आइएमईकै शर्त अनुसार राष्ट्र बैंकले १० ठूला बैंकको बाह्य लेखा परीक्षण गराउने प्रक्रिया अघि बढाएको थियो । विदेशी अडिटर कम्पनीले ठूला बैंकहरूले कर्जा लगानी गर्दा लिएको धितोको मूल्यांकन गर्ने, ऋण तिर्नका लागि ऋण लिने परिपाटी भएरनभएको, कर्जा केन्द्रीकृत भएरनभएको, समूहगत कर्जा लिने प्रवृत्ति कस्तो छ भन्ने लगायत परीक्षण गर्ने तय भएको थियो ।

सन् २०२१ डिसेम्बर २२ मा नेपालको तर्फबाट तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग विस्तारित कर्जा सुविधा (ईसीएफ) माग गरेका थिए ।

त्यसपछि आइएमएफले नेपाललाई शर्तसहित ३८ महिनाको लागि प्राप्त हुने गरी ३९ करोड ८८ लाख डलरको सहयोग गर्ने बताएको थियो । आइएमएफले नेपालका १० ठूला बैंकहरूको अन्तर्राष्ट्रिय अडिट फर्मले स्थलगत निरीक्षण गर्ने शर्त राखेको थियो । नेपालले आइएमएफलाई पेश गरेको ज्ञापनपत्रमा २०२३ मार्च भित्र १० ठूला बैंकको स्थलगत निरीक्षण गरिसक्ने बताए पनि ईसीएफको कार्यान्वयनमा भएको ढिलाईसँगै पछि धकेलिएको थियो ।

चर्को आवाज निकाल्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा, १५ हजारसम्म जरिवाना Read Previous

चर्को आवाज निकाल्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा, १५ हजारसम्म जरिवाना

नेप्सेमा हाफ सेञ्चुरीको छलाङ, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

नेप्सेमा हाफ सेञ्चुरीको छलाङ, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी